काठमाडौँ। पछिल्लो २४ घण्टामा देशभर विभिन्न प्रकृतिका २१ वटा विपद्का घटना भएका छन्। ती घटनामा परी आठ जना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यही असोज १५ गते बिहानदेखि १६ गतेसम्म देशका विभिन्न स्थानमा सर्पदंश, आगलागी, बाढी, पहिरो, अविरल वर्षा तथा जनावर आक्रमणका घटना भएका हुन्।
प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार विपद्का घटनामा परेकाको उद्धार, राहत तथा व्यवस्थापनका लागि १६५ जना प्रहरी परिचालन गरिएको छ । विपद् प्रभावित क्षेत्रमा सुरक्षा निकाय तथा सम्बन्धित निकायले आवश्यक उद्धार र व्यवस्थापनको काम गरिरहेका छन्।
प्राधिकरणका अनुसार उक्त अवधिमा सबैभन्दा बढी सर्पदंशका सात घटना भएका छन्। यस्तै, पहिरोका पाँच, बाढीका तीन, आगलागीका दुई तथा जनावर आक्रमणका दुई घटना भएका छन् । अविरल वर्षाका कारण एक विपद् घटना भएको प्राधिकरणले जनाएको छ।
विपद्का घटनाका कारण देशभर दुई वटा चौपायामा क्षति पुगेको छ । प्रारम्भिक विवरणअनुसार ती घटनाबाट करिब रु १२ हजार बराबरको आर्थिक क्षति भएको छ । प्राधिकरणले विपद्का घटना बढ्न सक्ने सम्भावनालाई ध्यान दिँदै जोखिमयुक्त क्षेत्रमा सतर्कता अपनाउन तथा आपत्कालीन अवस्थामा सम्बन्धित सुरक्षा निकाय र स्थानीय तहसँग समन्वय गरी उद्धार तथा व्यवस्थापनमा जुट्न आग्रह गरेको छ।







