Khabar Out
कालीगण्डकी बाढीको असर : राहुघाटको परीक्षण उत्पादन रोकियो

म्याग्दी । गत साताको झरिपछि कालीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्याएपछि नेपाल विद्युत् प्राधिकरणले म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माण गरेको राहुघाट जलविद्युत् आयोजनाको परीक्षण उत्पादन रोकेको छ ।

प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले निर्माण गरेको ४० मेगावाट क्षमताको राहुघाटको परीक्षण उत्पादन सुरु गरेको एक साता नपुग्दै असोज ८ देखि ११ गतेको वर्षापछि बाढी आएर क्षति पुगेको हो ।

आयोजना प्रमुख राजबहादुर विष्टले कालीगण्डकीको बाढीले रघुगङ्गा गाउँपालिका-३ तिल्केनीचौरमा रहेको विद्युत्गृहबाट पानी बगाउने ‘टेलरेस डग’को आधा भाग बगाएको र स्वीचयार्डमा रहेको ट्रान्सफर्मर नजिकैसम्म कटान गरेको बताए ।

“पहुँचमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको छ । झिँ र दग्नामको सिमानामा रहेको बाँधमा गेग्रान आएर थुप्रिएको छ”, उनले भने, “विपद्का कारण परीक्षणका लागि विद्युत् उत्पादन रोकिएको छ । कालीगण्डकीको कटानबाट जोखिममा परेको ट्रान्सफर्मरलाई जोगाउने प्रयास गरिरहेका छौँ ।”

कालीगण्डकी नदीमा गेग्रान मिसिदा बाँढीको सतह बढेर ग्राबेलको बेस भएको कालीगण्डकी किनारबाट विद्युत्गृहतर्फ कटान गरेर बग्दा चीन र भारत जोड्ने बेनी-जोमसोम-कोरला सडकको करिब १५० मिटर सडक पनि बगाएको छ । विद्युत्गृहस्थलमा निर्माण गरिएको ‘स्वीचयार्ड’ पनि नदी कटानको उच्च जोखिममा परेको छ ।

रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले आयोजनाले परीक्षण उत्पादन थालेको दुई दिनमा बाढीले क्षति पुर्याएपछि उत्पादन बन्द हुन पुगेको बताए । पन्ध्र दिनको परीक्षण उत्पादन सम्पन्न गरेपछि व्यावसायिक उत्पादन सुरु गर्ने तयारी गरे पनि बाढीले क्षति पुर्याएपछि अब एक महिनापछि मात्र व्यावसायिक उत्पादन सुरु गर्न सकिने उनले उल्लेख गरे । राहुघाट जलविद्युत् आयोजनाको सिभिल ठेकेदार जयप्रकाश एसोसिएट्सका सवारीसाधन र उपकरण पनि बाढीले बगाएको छ ।

त्यसैगरी, कालीगण्डकी नदीमा आएको बाढीले कालीगण्डकी करिडोरको २२० केभी क्षमताको दाना-कुस्मा प्रसारण लाइनका टावर बगाएको छ । कालीगण्डकीमा आएको बाढीले अन्नपूर्ण गाउँपालिका-१, दोवाको भिरकाटपारिका दुई र धिरच्याङको एउटा प्रसारण लाइनको टावर बगाएको नेपाल विद्युत् प्राधिकरण पोखरा ग्रिड महाशाखाका प्रमुख रोशन खड्काले जानकारी दिए ।

दाना-खुर्कोट प्रसारण लाइनबाट केन्द्रीय प्रणालीमा विद्युत् आपूर्ति गराउँदै आएका अन्नपूर्ण-४, नारच्याङमा पाँच मेगावाट क्षमताको घलेम्दीखोला, ४२ मेगावाट क्षमताको मिस्त्रीखोला, ३८ मेगावाट क्षमताको नीलगिरि-१, ७१ मेगावाट क्षमताको नीलगिरि-२ र छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजनाबाट विद्युत् प्रसारण सेवा बन्द भएको छ ।

नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको पोखरा ग्रिड महाशाखाका प्राविधिकसहितको टोलीले क्षतिग्रस्त प्रसारण लाइन र टावरको स्थलगत अनुगमन सुरु गरी क्षतिको विवरण सङ्कलन थालेको छ ।

ग्रिड शाखाका प्रमुख रोशन खड्काले प्रसारण लाइन र टावरमा पुगेको क्षतिको स्थलगत निरीक्षण गरी विद्युत् आपूर्ति गराउने वैकल्पिक उपायको खोजी र प्रसारण लाइन पुनर्निर्माणलाई अघि बढाउन प्राविधिकसहितको टोली क्षतिग्रस्त स्थलमा परिचालन गरिएको जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, असोज १६, २०८३  २२:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update