Khabar Out
"सुरक्षित सडक र सवारी, हामी सबैको जिम्मेवारी" भन्ने नाराका साथ यात्रु सहायता कक्ष शुभारम्भ

काठमाडौं । "सुरक्षित सडक र सवारी, हामी सबैको जिम्मेवारी" भन्ने नाराका साथ आज चाडपर्व लक्षित यात्रु सहायता कक्ष २०८३ को काठमाडौँको नयाँबसपार्कमा शुभारम्भ भएको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक शुशिल सिंह राठौरले नयाँबसपार्कमा स्थापना भएको यात्रु सहायता कक्षको रिबन काटेर शुभारम्भ गरेका थिए ।

नजिकिदै गरेका विजया दशमी, तिहार तथा छठ पर्वको अवसरमा काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुहरूको सुरक्षित, व्यवस्थित र सहज यात्राका लागि यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, सामुदायिक प्रहरी, यातायात व्यवसायी तथा उपभोक्ता समूहका प्रतिनिधिहरूको संयुक्त पहलमा यात्रु सहायता कक्षको स्थापना गरिएको हो ।

नयाँ बसपार्क सहित माछापोखरी, टोखा, तीनपिप्ले, भिमढुङगा, नाङ्लेभार, कलंकी, बल्खु, नागढुङ्गा, कोटेश्वर, चावहिल, फर्पिङ, साँखु, चापागाउँ र जगातीमा गरी १५ स्थानमा यात्रु सहायता कक्षको स्थापना गरिनेछ ।

trffice-1-1790958370.JPG
शुभारम्भ कार्यक्रममा बोल्दै प्रहरी अतिरिक्त महानिरीक्षक शुशिल सिंह राठौरले चाडपर्वको समयमा यात्रुको बाध्यता र चापलाई अनुचित आर्थिक लाभ लिने अवसर बनाउन नहुने उल्लेख गर्दै क्षणिक लाभका लागि क्षमता भन्दा बढी यात्रु चढाउने, तोकिएको भन्दा बढी द्द भाडा असुल्ने, टिकटमा कालोबजारी गर्ने, टिकट नदिने, यात्रुलाई अनावश्यक शुल्क लिने जस्ता खोज्ने वा यात्रुलाई कुनै किसिमको दुर्व्यवहार गर्ने जस्ता गतिविधी भएमा प्रचलित कानूनअनुसार कारवाही हुने बताए ।

कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौला र नेपाल यातायात स्वतन्त्र मजदुर संघका केन्द्रीय उपाध्यक्ष नवराज घिमिरेले आ(आफ्नो मन्तव्य राखेका थिए ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेले कार्यक्रममा उपस्थित अतिथिहरूलाई धन्यवाद ज्ञापन गर्दै, यात्रुलाई पर्न सक्ने समस्याको समाधान गर्न तथा यात्रामा सहजीकरणका लागि यात्रुहरूको बढी भिडभाड हुने स्थानलाई मध्यनजर गरेर यात्रु सहायता कक्षको स्थापना गरिएको बताए ।

​ सुरक्षाको अनुभूति, सुरक्षित आवागमनको लागि ​सचेतना र सूचना, यात्रुहरूको गुनासो सम्बोधन, ​भाडा दरको निगरानी, फर्जी टिकटमाथि कारबाही, आधिकारीक व्यक्तिबाट ​टिकट जारी भए र नभएको जाँच र ​मनसुनजन्य विपद्‍बाट सवारी आवागमन अवरुद्ध भएमा सोको जानकारी समेत यात्रु सहायता कक्षबाट गराइनेछ ।

कार्यक्रममा यातायात व्यवसायी, चालक, परिचालक, यात्रु, सरोकारवाला र सञ्चारकर्मीहरूको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति: शुक्रबार, असोज १६, २०८३  २२:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update