पोखरा । नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर–१ को सभापतिमा सरोज केसी निर्वाचित भएका छन् ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत क्षेत्रीय समिति सभापतिका लागि भएको निर्वाचनमा केसीले ४७२ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी ओमप्रकाश गुरुङलाई ६१ मतले पराजित गरेका हुन् । गुरुङले ४११ मत प्राप्त गरे ।
सभापतिका अर्की उम्मेदवार अप्सरा श्रेष्ठले ७० मत पाइन् । निर्वाचनमा कुल ९७० मत खसेको निर्वाचन समितिले जनाएको छ ।
कांग्रेसमा लामो समयदेखि सक्रिय केसी यसअघि प्रदेशसभा सभापतिको जिम्मेवारीमा थिए ।
यसैगरी, कास्की क्षेत्र नम्बर–१ ‘ख’को सभापतिमा अर्जुन गुरुङ निर्वाचित भएका छन् । उक्त क्षेत्रको उपसभापतिमा लोकबहादुर गुरुङ र सचिवमा किरण अधिकारी विजयी भएका छन् ।
कास्की क्षेत्र नम्बर–१ ‘क’को सभापतिमा भने नरेन्द्र थापा यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।







