काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत आजदेखि सुरु हुने वडा अधिवेशन उत्साह र हर्षोल्लासका साथ सम्पन्न गर्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।
देउवाले बिहीबार बिहान अपिल जारी गर्दै महाधिवेशनको प्रारम्भिक चरणका रूपमा हुने वडा अधिवेशनमा पार्टी पंक्तिलाई प्रफुल्ल र उत्साहका साथ सहभागी हुन आग्रह गरेका हुन् ।
अपिलमा देउवाले नेपाली कांग्रेसको झन्डै आठ दशक लामो राजनीतिक इतिहासमा लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था, पूर्ण प्रेस स्वतन्त्रता र विधिको शासनका लागि पार्टीले पुर्याएको योगदान, त्याग र बलिदानलाई थप सुदृढ बनाउन १५औँ महाधिवेशन महत्वपूर्ण रहेको उल्लेख गरेका छन् ।
उनले देशभरका ६ हजार ७४३ वटै वडामा निर्धारित विधि र प्रक्रिया पूरा गरी हर्षोल्लासका साथ वडा अधिवेशन सम्पन्न गर्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।
देउवाले पार्टीभित्र देखिने आन्तरिक मतभेदलाई १५औँ महाधिवेशनको आन्तरिक लोकतान्त्रिक अभ्यासमार्फत समाधान गर्दै नेपाली कांग्रेसलाई थप एकताबद्ध, सुदृढ र मजबुत बनाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
वडा अधिवेशनसँगै कांग्रेसको १५औँ महाधिवेशनको संगठनात्मक प्रक्रिया अघि बढ्नेछ ।






