Khabar Out
एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने

चीनले अमेरिकाले ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) लाई ‘सुपर इन्टेलिजेन्स’ (एसआई) भनेर सम्बोधन गर्ने निर्णयको सम्मान गर्ने जनाएको छ । चिनियाँ विदेश मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिमा अमेरिकाको शब्दावली छनोटलाई सम्मान गर्ने उल्लेख गरेको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबारदेखि अमेरिकी प्रशासनका आधिकारिक सञ्चारमा ‘आर्टिफिसियल इन्टेलिजेन्स’ को सट्टा ‘सुपर इन्टेलिजेन्स’ शब्द प्रयोग गरिने घोषणा गरेका थिए ।

यसै साता वासिङ्टनमा सम्पन्न अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीचको शिखर वार्तामा कृत्रिम बुद्धिमत्तासम्बन्धी विषय प्रमुख एजेन्डामध्ये एक थियो ।

वार्तापछि ट्रम्पले सामाजिक सञ्जालमा लेख्दै राष्ट्रपति सीलाई पनि ‘आर्टिफिसियल इन्टेलिजेन्स’ भन्दा ‘सुपर इन्टेलिजेन्स’ शब्द बढी उपयुक्त लागेको दाबी गरेका थिए । उनले ‘आर्टिफिसियल इन्टेलिजेन्स’ लाई कमजोर र गलत तथा ‘सुपर इन्टेलिजेन्स’ लाई अझ सही र महत्त्वपूर्ण नामको सङ्ज्ञा दिएका थिए । 

यद्यपि चीनले ट्रम्पको उक्त दाबीको पुष्टि वा खण्डन गरेको छैन । विदेश मन्त्रालयले भने अमेरिकाले अपनाएको नयाँ शब्दावलीलाई महत्त्व दिएको र त्यसको सम्मान गर्ने जनाएको छ ।

मन्त्रालयका एक प्रवक्ताले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'आर्टिफिसियल इन्टेलिजेन्ससम्बन्धी शब्दावलीका विषयमा चिनियाँ पक्षले अमेरिकी पक्षको अडानलाई महत्त्व दिन्छ र त्यसको शब्द–छनोटको सम्मान गर्दछ ।'

विज्ञप्तिमा कृत्रिम बुद्धिमत्तासम्बन्धी प्रविधि निरन्तर विकसित भइरहेको उल्लेख गर्दै सबै पक्षले पछिल्लो विकासलाई ध्यानमा राखी संवाद, अनुभव आदानप्रदान र सहमति निर्माणलाई अघि बढाउनुपर्नेमा जोड दिइएको छ ।

शिखर वार्तापछि दुवै देशले कृत्रिम बुद्धिमत्तासम्बन्धी विषयमा समन्वय र आकस्मिक घटनाबारे जानकारी आदानप्रदान गर्न विशेष सञ्चार संयन्त्र स्थापना गर्ने सहमति गरेका छन् ।

ट्रम्पले कृत्रिम बुद्धिमत्ताले मानवताका लागि गम्भीर जोखिम निम्त्याउन सक्छ भन्ने चिन्तालाई पटक–पटक अस्वीकार गर्दै आएका छन् । अर्कोतर्फ, राष्ट्रपति सी जिनपिङले कृत्रिम बुद्धिमत्ताको विकास मानवीय नियन्त्रण र जिम्मेवार प्रयोगभित्रै रहनुपर्ने धारणा व्यक्त गर्दै आएका छन् । रासस

प्रकाशित मिति: शनिबार, असोज १०, २०८३  २२:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update