Khabar Out
लमजुङका पाँचै स्थानीय तहका विद्यालय बन्द

लमजुङ । केही दिन मुलुकभर भारीदेखि अतिभारी वर्षाको सम्भावना रहेको नेपाल मौसम विज्ञान विभागले जनाएसँगै विपद्‌बाट हुनसक्ने जोखिम न्यूनीकरण तथा विद्यार्थी, शिक्षक र कर्मचारीको सुरक्षालाई दृष्टिगत गर्दै लमजुङका पाँच स्थानीय तहले विद्यालय बन्द गर्ने निर्णय गरेका छन् ।

बेँसीसहर, सुन्दरबजार र मध्यनेपाल नगरपालिका तथा क्व्होलासोथार र दोर्दी गाउँपालिकाले आज छुट्टाछुट्टै सूचना जारी गरी विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् । चार स्थानीय तहले शुक्रबार एक दिन विद्यालय बन्द गर्ने जनाएका छन् भने मध्यनेपाल नगरपालिकाले दुई दिन विद्यालय बन्द गर्ने जनाएको छ ।

विभागको विशेष मौसमी बुलेटिनअनुसार असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अतिभारी वर्षा हुने सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात तथा हावाहुरी र चट्याङ पनि पर्न सक्ने पूर्वानुमान गरिएको छ ।

सोही अवस्थालाई मध्यनजर गर्दै शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यार्थी, बालबालिका, शिक्षक तथा कर्मचारी सुरक्षित रहने गरी आवश्यकताअनुसार असोज ८ र ९ गते विद्यालयमा बिदा गराउन स्थानीय तहलाई अनुरोध गरेको छ ।

बेँसीसहर नगरपालिकाले नगर क्षेत्रमा निरन्तर वर्षा भइरहेको र सम्भावित जोखिमलाई दृष्टिगत गर्दै सम्पूर्ण शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको हो । नगरले उक्त बिदा अन्य बिदामा समायोजन गर्ने जनाएको छ । सुन्दरबजार नगरले पहिरो, भूक्षय जानसक्ने, खोलानाला बढ्ने, सडक अवरुद्ध हुनेलगायत जोखिमलाई ध्यानमा राख्दै सम्पूर्ण शैक्षिक संस्था सञ्चालन नगर्ने जनाएको छ ।

नगरपालिकाले अत्यावश्यक कामबाहेक टाढा तथा जोखिमयुक्त यात्रा नगर्न र जोखिम देखिएमा सुरक्षित स्थानमा सर्नका लागि तयार रहन पनि आग्रह गरेको छ । मध्यनेपाल नगरपालिकाले दुई दिन विद्यालय बन्द गर्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन तथा अत्यावश्यक कामबाहेक टाढाको यात्रा नगर्न अनुरोध गरेको छ ।

दोर्दी गाउँपालिकाले विद्यार्थी, शिक्षक तथा कर्मचारीको आवतजावतमा हुनसक्ने सम्भावित जोखिमलाई ध्यानमा राखी गाउँपालिकाभित्र सञ्चालित सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । उक्त बिदा शैक्षिक क्यालेन्डरको हिउँदे बिदाबाट एक दिन घटाई मिलान गर्ने र विद्यालयले सट्टा पठनपाठनको व्यवस्था मिलाउने जनाएको छ ।

क्व्होलासोथार गाउँपालिकाले पनि विद्यार्थी, शिक्षक तथा कर्मचारीको सुरक्षालाई प्राथमिकतामा राख्दै सम्पूर्ण विद्यालय एक दिन बन्द गर्ने जनाएको छ । गाउँपालिकाले बिदाको समयमा अनावश्यक रूपमा घरबाहिर ननिस्कन तथा बाढी, पहिरो, हिमपात, हावाहुरी र चट्याङको सम्भावित जोखिमबाट सुरक्षित रहन आग्रह गरेको छ ।

भारी वर्षासँगै बाढी, पहिरो, भूक्षय, खोलानालामा पानीको बहाव बढ्ने तथा सडक अवरुद्ध हुनसक्ने भएकाले स्थानीय तहहरूले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । जोखिमयुक्त नदी तथा खोलाका किनार र पहिरो सम्भावित क्षेत्रमा नजान तथा मौसम र विपद्सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा लिन पनि अनुरोध गरेका हुन् । रासस

प्रकाशित मिति: बिहीबार, असोज ८, २०८३  २१:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update