Khabar Out
तनहुँका १० पालिकामा कांग्रेसको नयाँ नेतृत्व, ८५ वडामा महिला नेतृत्व शून्य

तनहुँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तनहुँका १० वटै पालिकामा नयाँ नेतृत्व चयन भएको छ । बुधबार सम्पन्न पालिका अधिवेशनबाट आठ पालिकामा नेतृत्व सर्वसम्मत चयन भएको छ भने दुई पालिकामा मतदानमार्फत नेतृत्व चयन गरिएको हो ।

अधिवेशनबाट व्यास नगर सभापतिमा तुल्सीराम सापकोटा, भिमाद नगर सभापतिमा अर्विन श्रेष्ठ, भानु नगर सभापतिमा राजन श्रेष्ठ, शुक्लागण्डकी नगर सभापतिमा कृष्णप्रसाद रेग्मी, घिरिङ गाउँ सभापतिमा सुमन थापामगर, ऋषिङ गाउँ सभापतिमा याम सारु मगर, आँबुखैरेनी गाउँ सभापतिमा सोम दर्लामी र बन्दीपुर गाउँ सभापतिमा पर्शुराम अधिकारी सर्वसम्मत निर्वाचित भएका छन् ।

त्यस्तै, म्याग्दे गाउँ सभापतिमा मतदानमार्फत नरसिंह राना विजयी भएका छन् भने देवघाट गाउँ सभापतिमा अर्जुन अधिकारी निर्वाचित भएका छन् । यससँगै तनहुँका सबै १० पालिकामा नेपाली कांग्रेसको नयाँ नेतृत्व चयन भएको छ ।

यसैबिच नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको वडा अधिवेशनमा महिला नेतृत्व शून्य भएको छ । जिल्लाका १० स्थानीय तहका ८५ वटै वडामा पुरुषको मात्रै सभापति चयन भएका छन् ।

व्यास नगरपालिकाका १४, शुक्लागण्डकी नगरपालिकाका १२, भिमाद नगरपालिकाका ९, भानु नगरपालिकाका १३, देवघाट गाउँपालिकाका ५, आँबुखैरेनी गाउँपालिकाका ६, ऋषिङ गाउँपालिकाका ८, घिरिङ गाउँपालिकाका ५, म्याग्दे गाउँपालिकाका ७ र बन्दीपुर गाउँपालिकाका ६ वडामा सभापति चयन भएको नेपाली कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले जानकारी दिए।

वडा तह पार्टी सङ्गठनको सबैभन्दा महत्वपूर्ण आधारका रूपमा लिइने भए पनि नेतृत्व चयनमा महिलाको उपस्थिति नदेखिनुले कांग्रेसको वडा तहको नेतृत्वमा लैङ्गिक प्रतिनिधित्वको अवस्था कमजोर देखिएको छ । रासस

प्रकाशित मिति: बिहीबार, असोज ८, २०८३  १६:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update