Khabar Out
विद्यालयको नाममा जग्गा नहुँदा समस्या

दाङ ।  जिल्लाकै पुरानो मध्येको एक विद्यालयको नाममा जग्गा नहुँदा अनेकन् समस्या भोग्नु परेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं ९ मा रहेको श्री माध्यमिक विद्यालय दोघरे स्थापना भएको आधा शताब्दी पूरा भए पनि हालसम्म जग्गा प्राप्त गर्न सकेको छैन ।

कक्षा १० सम्म सञ्चालित उक्त विद्यालय २०३१ सालमा स्थापना भएको हो । विद्यालयको नाममा जग्गा नहुँदा निकै कठिनाइ भोग्नु परेको विद्यालयका प्रधानाध्यापक सुनिता यादवले बताइन् ।

नगर विकासको जग्गामा विद्यालयका भवन बनाउनुपर्ने बाध्यता छ । नगर विकास समितिले उपलब्ध गराएको जग्गाको भोगाधिकार मात्रै छ । विद्यालयको नाममा नामसारी हुन सकेको छैन ।

हाल १० कट्ठा जग्गामा विद्यालय भवन निर्माण गरेर पठन–पाठन भइरहेको छ । यस अघि उत्तरतर्फको दुई बिघामा विद्यालयले संरचना निर्माण गरेर लामो समयसम्म पठन–पाठन गर्दै आएको थियो । त्यो जग्गा पनि नगर विकास समितिकै थियो । सो जग्गा नगर विकास समितिले उच्च अदालत तुलसीपुरलाई दिएपछि विद्यालय अन्यत्र सार्नु परेको थियो । यसरी पहिलेका संरचनालाई छोडेर नयाँ संरचना बनाउँदा निकै समस्या हुने गरेको प्रअ यादवको भनाइ छ ।

हाल उपलब्ध गराएको १० कट्ठा जग्गा पनि विद्यालयको नाममा नआउँदा विभिन्न दातृ निकायले दिने अनुदान पनि ल्याउन नसकिएको उनको भनाइ छ ।

सङ्घीय सरकारको मन्त्रीपरिषद्ले निर्णय गरेपछि मात्रै जग्गा प्राप्ति हुने भएकाले सोही अनुसाको प्रक्रिया अगाडि बढाउन आवश्यक तयारी थालिएको प्रअ यादवले बताइन् । “अब जग्गा प्राप्तिका लागि मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्छ”, उनले भनिन्, “त्यही अनुसारको प्रक्रिया अगाडि बढाउने तयारीमा छौँ ।”

विद्यालयका भवन सारिरहनु पर्ने वाध्यताप्रति स्थानीय अभिभावकहरुले चिन्ता व्यक्त गरेका छन् । अभिभावक ओजबहादुर खड्काले विद्यालयका थुप्रै संरचना निर्माण भए पनि छोडेर जानुपर्ने अवस्था आउनु दुःखद रहेको बताए। विद्यालयमा हाल पाँच सय बढी विद्यार्थी अध्ययनरत छन् । उक्त विद्यालय जिल्लाको पुरानोमध्येको एक हो । रासस

प्रकाशित मिति: बिहीबार, असोज ८, २०८३  ०९:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update