Khabar Out
एल निनोले खाद्य सुरक्षामा जोखिम बढाउँदै

काठमाडाैँ । यस वर्षको एल निनो हालसम्मकै शक्तिशाली बन्ने अनुमानसँगै एसियाका विभिन्न भागमा खडेरी गम्भीर बन्ने तथा पानीको अभाव र डढेलोको जोखिम बढ्ने देखिएको छ । यसको असर धान, पाम तेल र माछालगायत खाद्य उत्पादनमा परे विश्वभर खाद्यान्नको मूल्य बढ्न सक्ने चेतावनी दिइएको छ ।

एल निनो प्रशान्त महासागरको समुद्री सतहको तापक्रम सामान्यभन्दा बढी हुने प्राकृतिक जलवायु चक्र हो । यसले विश्वका विभिन्न क्षेत्रमा खडेरी, उष्ण लहर, बाढीलगायत चरम मौसमी घटना निम्त्याउने गर्छ । यस वर्ष एल निनो डिसेम्बरमा उत्कर्षमा पुग्ने र यसको प्रभाव सन् २०२७ सम्म रहन सक्ने अनुमान गरिएको छ ।

विश्व खाद्य कार्यक्रमका अनुसार एल निनोका कारण सन् २०२७ को अन्त्यसम्म कम्तीमा चार करोड ९० लाख मानिस थप तीव्र खाद्य असुरक्षामा पर्न सक्छन् । मध्य अमेरिका र दक्षिणी अफ्रिकाका साथै पूर्वी अफ्रिका तथा दक्षिण र दक्षिणपूर्वी एसिया पनि प्रभावित हुने चेतावनी दिइएको छ। अमेरिकी राष्ट्रिय समुद्री तथा वायुमण्डलीय प्रशासनले सन् १९५० यता अभिलेख राख्न थालिएपछि यसपटककै शक्तिशाली एल निनो बन्ने सम्भावना ६९ प्रतिशत रहेको जनाएको छ।

दक्षिणपूर्वी एसियामा यसको प्रभाव देखिन थालिसकेको छ । इन्डोनेसियाका जङ्गल तथा पिटभूमिमा डढेलो फैलिएको, जकार्तालाई पानी आपूर्ति गर्ने जलाशयको सतह घटेको र माछा उत्पादन प्रभावित भएको छ । इन्डोनेसियाको मौसम तथा वातावरण अनुसन्धान केन्द्रकी एर्मा युलिहास्टिनले एल निनोले ‘अत्यधिक प्रभावको चरण’ सुरु गरेको बताए।

मेकोङ नदीमा पानीको बहाव घट्दा माछा मार्ने र खेती गर्ने समुदाय थप समस्यामा परेका छन् । कम वर्षा र बढ्दो तापक्रमले यस क्षेत्रको महत्त्वपूर्ण प्रोटिन स्रोत माछा उत्पादनमा दबाब बढाएको छ । नेभाडा विश्वविद्यालयका अनुसन्धानकर्ता जेब होगनले अवस्थालाई ‘एकपछि अर्को मुक्का’ जस्तो भएको बताए।

धान उत्पादनमा कमी आए विश्व बजारसमेत प्रभावित हुन सक्छ । भारत, भियतनाम र थाइल्यान्ड विश्वका प्रमुख चामल निर्यातक हुन् र यी देश एल निनोबाट प्रभावित हुने अनुमान गरिएको छ । इन्डोनेसिया र मलेसियामा पनि पाम तेल उत्पादन जोखिममा परेको छ । यी दुई देशले विश्वको करिब ८५ प्रतिशत पाम तेल आपूर्ति गर्छन् ।

एसियाली सरकारहरू युद्धका कारण बढेको इन्धन तथा मलको मूल्य र आपूर्ति समस्यासँग जुधिरहेका बेला एल निनोको थप दबाब सामना गर्नुपर्ने अवस्थामा छन् । एचएसबीसी ग्लोबल इन्भेस्टमेन्ट रिसर्चका अनुसार विगतका शक्तिशाली एल निनोबाट खर्बौं डलर बराबरको आर्थिक क्षति भएको थियो । गोल्डम्यान स्याक्सका विश्लेषकहरूले यसपटक विश्वव्यापी खाद्य वस्तुको मूल्य १५ प्रतिशतभन्दा बढी बढ्न सक्ने अनुमान गरेका छन्।

संयुक्त राष्ट्रसङ्घीय अधिकारी करेफ रफिसुराले कृषि उत्पादनमा आउने कमीले गरिबीको रेखामुनि रहेका मानिसलाई थप प्रभावित पार्न सक्ने बताउनुभयो । उहाँका अनुसार दक्षिणपूर्वी एसियाली देशले आफ्नो खाद्य उत्पादन जोगाउन सक्ने क्षमताले क्षेत्रीय मात्र नभई विश्व खाद्य बजारमा समेत प्रभाव पार्नेछ।

प्रकाशित मिति: मंगलबार, असोज ६, २०८३  २१:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update