Khabar Out
सेखुवाका नागरिकलाई गाउँमै स्वास्थ्य सेवा

खोटाङ । भौगोलिक विकटताका कारण लामो समयदेखि सहज स्वास्थ्य सेवाको पहुँचबाट वञ्चित साकेला गाउँपालिका–१ सेखुवाका नागरिकलाई लक्षित गर्दै सामुदायिक स्वास्थ्य सेवा इकाई केन्द्र स्थापना गरिएको छ ।

गाउँपालिकाले सञ्चालनमा ल्याएको यो स्वास्थ्य इकाई साकेला गाउँपालिकाको आठौँ स्वास्थ्य संस्थाका रूपमा सोमबारदेखि सञ्चालनमा ल्याइएको हो ।

गाउँपालिकाको लगानीमा निर्माण गरिएको भवनको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष रविप्रकाश राईले स्वास्थ्य सेवा इकाई बाट सेवा प्रवाहको शुभारम्भ गरे । भौगोलिक रूपमा ठुलो वडाका रूपमा रहेको सेखुवाका नागरिकलाई स्वास्थ्य सेवाका लागि टाढा जानुपर्ने बाध्यतालाई मध्यनजर गर्दै स्वास्थ्य सेवा इकाई स्थापना गरिएको हो ।

गाउँपालिका अध्यक्ष राईले भौगोलिक विकटताका कारण कुनै पनि नागरिक आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित हुन नहुने बताए । “भौगोलिक अवस्था कठिन छ भन्दैमा नागरिकले स्वास्थ्य सेवा पाउन कठिन हुनुहुँदैन । राज्यले सेवा त्यहाँ पुर्‍याउनुपर्छ, जहाँ नागरिकलाई सेवाको सबैभन्दा बढी आवश्यकता छ”, उनले भने, “सेखुवामा स्वास्थ्य इकाई स्थापना हुनु एउटा भवन थपिनु मात्र होइन । यहाँका नागरिकको स्वास्थ्य अधिकारलाई व्यवहारमै सुनिश्चित गर्ने महत्त्वपूर्ण कदम हो ।”

गाउँको विकासका लागि स्थानीय सरकार र जनप्रतिनिधिले मात्र प्रयास गरेर नपुग्ने उल्लेख गर्दै अध्यक्ष राईले नागरिकको सामूहिक सहभागिता र योगदान अपरिहार्य रहेको बताए ।

“देश बनाउन भाषणले मात्र पुग्दैन, सबै नागरिक मिलेर काम गर्नुपर्छ । विकासको जिम्मेवारी सरकारको मात्र होइन, समाजका हरेक नागरिकको हो”, उहाँले भन्नुभयो, “हामीले जहाँबाट जे योगदान गर्न सक्छौँ, त्यहीँबाट सुरु गर्ने हो । कसैले श्रम दिन सक्छ, कसैले जग्गा दिन सक्छ, कसैले ज्ञान र सीप दिन सक्छ । यिनै सानासाना योगदान जोडिँदा गाउँको ठुलो विकास सम्भव हुन्छ ।”

विशेषगरी साबिक वडा नं १ र २ लगायत आसपासका नागरिकलाई लक्षित गरी स्थापना गरिएको स्वास्थ्य इकाई बाट स्थानीयस्तरमै आधारभूत स्वास्थ्य सेवा उपलब्ध हुनेछ । सामान्य स्वास्थ्य समस्या, प्राथमिक उपचार, स्वास्थ्य परामर्श तथा आवश्यक स्वास्थ्य सेवाका लागि अब स्थानीय नागरिकले टाढाको स्वास्थ्य संस्थामा धाउनुपर्ने बाध्यता हटेको वडाध्यक्ष हेमन राईले बताए ।

स्वास्थ्य सेवा इकाई स्थापनाका लागि जग्गा उपलब्ध गराउने अदमबहादुर राईको योगदानको गाउँपालिकाले उच्च सम्मान गरेको छ । कार्यक्रममा जग्गादाता राईका छोरा दिलकुमार राईलाई दोसल्ला ओढाएर सम्मान गरियो । सेखुवामा स्वास्थ्य इकाई स्थापना भएसँगै विकट भूगोलमा पनि ‘नागरिक भएको ठाउँमै सेवा’ पुर्‍याउने स्थानीय सरकारको प्रयासले थप गति पाएको छ । रासस

प्रकाशित मिति: मंगलबार, असोज ६, २०८३  ०९:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update