Khabar Out
कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

झापा । कोशी प्रदेशमा डेंगु सङ्क्रमणको दर तीव्र रूपमा बढ्दै गएको छ। प्रदेशका १३ जिल्लामा फैलिएको डेंगुबाट झापा जिल्ला सबैभन्दा उच्च जोखिममा परेको छ ।

कोशी प्रदेश स्वास्थ्य निर्देशनालयकी जनस्वास्थ्य अधिकृत स्मृति लुइँटेलका अनुसार सन् २०२६ को सेप्टेम्बर १९ सम्मको तथ्याङ्कअनुसार प्रदेशभर ७९३ जनामा डेंगु सङ्क्रमण पुष्टि भइसकेको छ।

सङ्क्रमण पुष्टि भएकाहरूमध्ये झापामा मात्रै हालसम्म २२८ जना रहेका छन्। दोस्रो धेरै सङ्क्रमित भेटिएको जिल्ला सुनसरी हो, जहाँ २०३ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ।

निर्देशनालयका अनुसार ओखलढुङ्गामा १२२ जना र खोटाङमा ८२ जनामा सङ्क्रमण देखिएको छ। यसैगरी पाँचथरमा ४४, उदयपुरमा ३४, भोजपुरमा ३१, मोरङमा २०, सङ्खुवासभामा १८, धनकुटामा ४, सोलुखुम्बुमा ३, तेह्रथुममा ३ र ताप्लेजुङमा १ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ।

सोही अवधिमा विभिन्न जिल्लामा डेंगु सङ्क्रमणका ५१ वटा सम्भावित र दुई वटा शङ्कास्पद बिरामी अस्पतालमा भर्ना भएर उपचार गराइरहेका जानकारी लुइँटेलले दिएकी छन्। सङ्क्रमणको बढ्दो जोखिमलाई मध्यनजर गर्दै लामखुट्टेको बासस्थान खोज्ने र नष्ट गर्ने लगायतका अभियानहरू तत्काल सञ्चालन गर्नुपर्ने उनले बताएकी छन् ।

प्रकाशित मिति: सोमबार, असोज ५, २०८३  ०८:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update