Khabar Out
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सचिवालय स्थापना

काठमाडौँ- कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको सचिवालयको स्थापना भएको छ।

राष्ट्रिय खेलकुद परिषद्द्वारा आज यहाँ आयोजित एक कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सचिवालयको उद्घाटन गरेका हुन्। उनले कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुने उक्त प्रतियोगिताको तयारीको सुरुआत भएको बताए। 

SRS AD

खेलकुदमन्त्री चौधरीले प्रतियोगिता हुन तीन महिना बाँकी रहेकाले सो समयसम्म सम्पूर्ण भौतिक पूर्वाधार निर्माण भइसक्ने बताए। उनले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आवश्यक बजेटको फाइल अर्थमन्त्रालयमा आजै पुगेको उल्लेख गरे।

उनले प्रतियोगितामा विभिन्न ३६ खेल समावेश गर्ने भनिएपनि त्यस विषयमा आगामी माघ ३ गते बस्ने बोर्ड बैठकले निर्णय गर्ने जानकारी दिए। अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेललाई दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा प्राथमिकतामा राखिने उनले उल्लेख गरे। 

त्यसैगरी राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले कर्णाली प्रदेशमा आवासीय समस्याका कारण २४ वटा खेल आयोजना गर्ने र बाँकी खेल अन्य स्थानमा गर्ने सम्भावना रहेको बताए। दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी चैत २३ देखि ३० गतेसम्म गर्ने तय भएको छ । 

प्रकाशित मिति: बुधबार, पुस २४, २०८१  २०:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update