Khabar Out
कांग्रेसका ४३ जिल्लामा तीन हजारभन्दा बढी वडामा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत देशका ४३ जिल्लामा तीन हजारभन्दा बढी वडाको अधिवेशन सम्पन्न भएको छ ।

केन्द्रीय निर्वाचन समितिका अनुसार शनिबारदेखि सुरु भएको वडा अधिवेशनअन्तर्गत ४३ जिल्लाका कुल ३ हजार ३ सय ९६ वडामा अधिवेशन सम्पन्न भएको हो ।

अधिवेशन सम्पन्न भएका जिल्लामा ताप्लेजुङ, पाँचथर, संखुवासभा, धनकुटा, सोलुखुम्बु, उदयपुर, झापा, मोरङ, महोत्तरी, रामेछाप, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, चितवन, भक्तपुर, ललितपुर, काठमाडौं, गोरखा, कास्की, मनाङ, पर्वत, स्याङ्जा, बागलुङ, नवलपुर, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम (पूर्व), रोल्पा, प्युठान, रुकुम पश्चिम, डोल्पा, जुम्ला, मुगु, हुम्ला, जाजरकोट, दैलेख, सुर्खेत, डोटी, अछाम, दार्चुला, बैतडी, कञ्चनपुर र कैलाली रहेका छन् ।

सम्पन्न वडा अधिवेशनबाट नयाँ वडा कार्यसमिति गठन हुनुका साथै क्षेत्रीय प्रतिनिधिसमेत चयन गरिएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार रसुवा, नुवाकोट र धादिङबाहेक बाँकी ३१ जिल्लाका वडा अधिवेशन भने असोज ४ गते पनि जारी रहने भएका छन् ।

केन्द्रीय निर्वाचन समितिका सदस्य–सचिव राजु कटुवालले जारी गरेको विज्ञप्तिमा निर्धारित कार्यतालिकाअनुसार बाँकी जिल्लामा वडा अधिवेशन प्रक्रिया अघि बढ्ने उल्लेख गरिएको छ ।

प्रकाशित मिति: शनिबार, असोज ३, २०८३  २१:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update