काठमाडौं । विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरेर प्रहरीले नियन्त्रणमा लिएका पत्रकारहरू चौतर्फी विरोधपछि रिहा भएका छन् ।
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले शुक्रबार साँझ सामाजिक सञ्जालमार्फत पक्राउ परेका सबै पत्रकार रिहा भएको जानकारी दिएका हुन् । उनले सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिता लोकतन्त्रका आधारस्तम्भ भएको बताएका छन् ।
शुक्रबार प्रहरीले नेपालप्रेसका विश्वमणि सुवेदी, डीएनखबरका धीरज बस्नेत र मोटिभेट न्युजका शोभराज बराललाई समाचार कक्षमै प्रवेश गरी नियन्त्रणमा लिएको थियो । यस्तै, नयाँ पत्रिकाका पत्रकार नवराज मैनालीलाई पक्राउ गर्न प्रहरी टोली कार्यालय पुगेको थियो । प्रहरीले मैनाली र सम्पादक खगेन्द्र पन्तलाई साइबर ब्युरोमा उपस्थित हुन निर्देशन दिएको छ ।
पत्रकार पक्राउको घटनाप्रति सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका नेताहरूले विरोध जनाएका थिए । उनीहरूले समाचारकै आधारमा पत्रकार पक्राउ गर्नु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्ध भएको भन्दै सरकारको आलोचना गरेका छन ।
त्यस्तै, नेपाल बार एसोसिएसनका अध्यक्ष डा. विजयप्रसाद मिश्रले घटनाले शाही शासनकालको झल्को दिएको टिप्पणी गर्दै पक्राउको विरोध गरेका छन । प्रेस काउन्सिल नेपालले पनि समाचार कक्षमा प्रहरी प्रवेश गरी पत्रकार नियन्त्रणमा लिएको घटनाप्रति गम्भीर आपत्ति जनाउँदै पक्राउको कानुनी आधार सार्वजनिक गर्न र कानुनी आधारबिना नियन्त्रणमा राखिएका पत्रकारलाई तत्काल रिहा गर्न माग गरेको थियो ।
चौतर्फी विरोधपछि पत्रकारहरू रिहा भएका हुन् ।







