झापा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विद्यार्थीलाई विदेश पठाउने मात्र नभई विदेशी विद्यार्थीलाई कोशी प्रदेशमा अध्ययनका लागि वातावरण बनाउन शैक्षिक परामर्श व्यवसायीलाई आग्रह गरेका छन् ।
नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) को तेस्रो संस्करणको ‘इक्यान लिडर्स मिट ३.०’ को शुक्रबार बिर्तामोडमा उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेशको शैक्षिक तथा पर्यटन क्षेत्रको विकासमा शैक्षिक परामर्श व्यवसायीले योगदान गर्न सक्ने बताए ।
उनले भने, “विद्यार्थीलाई विदेशका विश्वविद्यालयमा पठाउने मात्र होइन, नेपालमै विशेषगरी कोशी प्रदेशमा विभिन्न विषय अध्ययनका लागि विदेशी विद्यार्थी भित्र्याउने योजनासहित काम गर्न आवश्यक छ।”
मुख्यमन्त्री कार्कीले कोशी प्रदेशलाई सांस्कृतिक विश्वविद्यालयको हबका रूपमा विकास गर्न सकिने उल्लेख गर्दै पूर्वीय दर्शन, नेपालको संस्कृति तथा पौराणिक महत्त्वबारे अध्ययन गर्न विश्वका विभिन्न मुलुकका विद्यार्थीलाई नेपाल ल्याउन सकिने धारणा राखे। यस्ता विश्वविद्यालय सञ्चालनका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्न तयार रहेको उहााको भनाइ थियो ।
इक्यान झापाको आतिथ्यमा बिर्तामोडमा यही असोज ४ गतेसम्म सञ्चालन हुने उक्त कार्यक्रममा देशभरबाट करिब १५० प्रतिनिधिको सहभागिता रहेको छ ।






