Khabar Out
भद्रपुर भन्सारको राजस्व असुलीमा सुधार

झापा । भद्रपुर भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को सुरुआती दुई महिना (साउन र भदौ) मा निर्धारित लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।

कार्यालयले यस अवधिमा रु चार करोड ६६ लाख ४९ हजार ५४० राजस्व असुली गरेको हो । यो दुई महिनाका लागि निर्धारित कुल लक्ष्यको ११८ दशमलव ३४ प्रतिशत हो ।

कार्यालयका प्रमुख भन्सार अधिकृत प्रभुनारायण मेहताका अनुसार सीमा क्षेत्रमा चोरी, पैठारी नियन्त्रणमा सशस्त्र प्रहरीको सक्रियता बढेसँगै वैधानिक रुपमा भन्सार नाकाबाट हुने आयातमा वृद्धि भएकाले राजस्व असुलीमा सुधार आएको हो । विशेषगरी यस अवधिमा साडी, कुर्तासलवारलगायत कपडाको आयात बढेको मेहताले बताए ।

भदौमा मात्र रु दुई करोड १० लाख २४ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएकामा कार्यालयले रु तीन करोड १६ लाख १५ हजार ४२२ सङ्कलन गरेको छ । यो लक्ष्यको १५० दशमलव ३८ प्रतिशत हो । यसअघि साउनमा रु एक करोड ५० लाख ३४ हजार ११८ राजस्व सङ्कलन भएको थियो ।

चालु आवका लागि कार्यालयले रु २६ करोड २८ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ । दुई महिनाको अवधिमा भएको सङ्कलन वार्षिक लक्ष्यको १७ दशमलव ७५ प्रतिशत हो ।

यस अवधिमा सङ्कलित कुल राजस्वमध्ये सबैभन्दा बढी योगदान मूल्य अभिवृद्धि कर (भ्याट) बाट रु दुई करोड २० लाख एक हजार १५६ रहेको छ ।

यस्तै, भन्सार महसुल (आयात) बाट रु एक करोड ८४ लाख १२ हजार ३२३, अन्तःशुल्कबाट रु ६२ लाख ७७ हजार २९६ र कृषि सुधार शुल्कबाट रु १३ लाख २२ हजार ३८९ सङ्कलन भएको कार्यालयले जनाएको छ ।

गत आव २०८२/८३ मा भने कार्यालयले निर्धारित राजस्व सङ्कलनको लक्ष्य पूरा गर्न सकेको थिएन । सो वर्ष रु २५ करोड तीन लाख २५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा ७४ दशमलव ३४ प्रतिशत अर्थात् रु १८ करोड ६० लाख ९५ हजार ८४४ मात्रै सङ्कलन भएको थियो । रासस

प्रकाशित मिति: बिहीबार, असोज १, २०८३  १०:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update