काठमाडौँ । इन्द्रजात्राका लागि इन्द्रध्वजोत्थान गर्न भक्तपुरको नाला सामुदायिक वनबाट ल्याइएको इन्द्रध्वजको प्रतीक भोटाहिटी ल्याइएको छ । प्रत्येक वर्ष भाद्रपद शुक्ल द्वितीयाका दिन नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतमा वन यात्रा सुरु गरी लिङ्गोको लागि रुख काट्न वनमा जाने परम्परा रहेको छ ।
त्यसअनुसार भदौ २८ गते आइतबार बिहान ९ः५३ को साइतमा गएको टोलीले नाला सामुदायिक वनबाट सल्लाको रुख काटेर भोटाहिटीमा ल्याइएको हो । वनमा पुगेर तरबार र खड्ग एवं रुखको पनि पूजा गरी समितिले नै दिएको साइतअनुसार भदौ २८ गते आइतबार रातिको ८ः४७ बजे रुख काटेर ल्याइएको हो ।
रुख काट्नुअघि बोकाको बलिसहित तान्त्रिक विधिले पनि पूजा गर्ने परम्परा रहेको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथलीस्थित नाला सामुदायिक वनबाट इन्द्रध्वजको प्रतीकका लागि रुख काटेर ल्याउने परम्परा रहेको छ । इन्द्रजात्रा र बिस्केट जात्राका लागि यही सामुदायिक वनबाट सल्लाको रुख ल्याउने गरिएको संस्थानका कर्मचारी रमेश काफ्लेले बताए ।
इन्द्रजात्राको लिङ्गोका लागि रुख काट्न सामुदायिक वनसँग सम्झौता गर्ने गरिएको छ । बिस्केट जात्राको लिङ्गो काट्नका लागि भने बोलपत्र आह्वान गर्ने गरिएको संस्थानले जनाएको छ ।
भोटाहिटीमा ल्याई राखिएको इन्द्रध्वजको प्रतीक असोज ३ गते शनिबार बिहान ०८ः०५ बजेको साइतमा नगर प्रवेश गराइन्छ । इन्द्रध्वजको प्रतीकलाई भोटाहिटीबाट हनुमानढोका दरबार क्षेत्रमा लैजानुलाई नगर प्रवेश भन्ने गरिएको गुठी संस्थानका प्रशासक शैलेशराज कुँवरले जानकारी दिए । रासस






