Khabar Out
तीन महिनादेखि उडान नहुँदा सुनसान रेसुङ्गा विमानस्थल

गुल्मी। गुल्मीको एकमात्र रेसुङ्गा विमानस्थलबाट गएको तीन महिनामा कुनै हवाई उडान हुन सकेको छैन।

उडान अवरुद्ध हुँदा जेठ महिनाको तेस्रो सातादेखि हालसम्म विमानस्थल सुनसान बनेको छ भने हवाई सेवा ठप्प छ। प्रतिकूल मौसमको कारण देखाउँदै पटक–पटक उडान रद्द भएपछि यात्रुलाई सडक मार्गबाहेक अर्काे भरपर्दाे विकल्प हुन सकेको पाइन्न।

वर्षायाममा प्रायः बाक्लो कुहिरो लाग्ने भएकाले उडान नियमित गर्न समस्या परेको रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले बताए। हवाई सेवा अवरुद्ध हुँदा वृद्धवृद्धा, बिरामी तथा अत्यावश्यक कामका लागि राजधानी आवतजावत गर्ने यात्रु बढी समस्यामा परेका छन्।

नेपाल वायुसेवा निगमले त्यस विमानस्थलबाट शनिबार, आइतबार र बिहीबार गरी सातामा तीन दिन उडान तालिका निर्धारण गरेको थियो। तर मौसम प्रतिकूल हुँदा निर्धारित तालिकाअनुसार उडान हुन नसक्दा यात्रुले पटक–पटक टिकट रद्द गर्नुपर्ने अवस्था छ। जसका कारण यात्रुको समय र आर्थिक भार दुवै बढाएको छ।

उक्त विमानस्थलका स्टेशन प्रमुख थापाका अनुसार मौसम खराब भएका कारण उडान सेवा अवरुद्ध बनेको हो। उनका अनुसार मौसममा सुधार आउन थालेका कारण अब चाँडै नै हवाई सेवा नियमित हुनसक्ने बताए। उक्त विमानस्थलमा नेपाल वायुसेवा निगमले १८ सिट क्षमताको ट्विनअटर जहाजमार्फत काठमाडौ–गुल्मी र गुल्मी–काठमाडौँ उडान गर्दै आएको थियो।

निगमले काठमाडाैँदेखि गुल्मीका लागि रु १० हजार सात सय १० र गुल्मीदेखि–काठमाडौँका लागि रु १० हजार पाँच सय १० हवाई भाडा निर्धारण गरेको छ। हवाई सेवा सञ्चालन भएको तीन वर्षको अवधिमा जिल्लामा दुईतर्फी गरी ३७८ वटा उडान भएको थियो।

पछिल्लो समय इन्धनको मूल्य वृद्धि भएपछि यात्रुको सङ्ख्यासमेत घट्दै गएको उनकाे भनाइ छ। हवाई सेवा नियमित हुन नसक्दा जिल्लाको पर्यटन प्रवर्द्धनमा समेत ठुलो असर पुग्ने नागरिक समाज गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेयले बताए।

सडकमार्गबाट गुल्मीदेखि काठमाडौँ पुग्न १२ देखि १६ घण्टासम्म लाग्ने भए पनि हवाई मार्गबाट करिब ४५ देखि ५० मिनेटमै राजधानी पुग्न सकिने छ। त्यस्तै हवाई सेवा नियमित भएमा बिरामी, वृद्धवृद्धा तथा अत्यावश्यक कामका लागि यात्रा गर्ने नागरिकलाई ठुलो राहत पुग्ने अध्यक्ष पाण्डेयले बताए । रासस

प्रकाशित मिति: बुधबार, भदौ ३१, २०८३  २१:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update