Khabar Out
मस्र्याङ्दी नदीमा पानीको सतह बढ्यो, सतर्कता अपनाउन आग्रह

लमजुङ । लगातार वर्षा भइरहेका कारण मस्र्याङ्दी नदीमा पानीको सतह बढेको छ । भकुण्डेबेँसीस्थित मस्र्याङ्दी जलमापन केन्द्रका अनुसार अहिले नदीको जलसतह ८.२४ मिटर आसपास रहेको छ । उक्त केन्द्रमा १० मिटरलाई चेतावनी तह मानिएको छ । पानीको बहाव बढ्दा पछिल्ला दिनमा नदीले चेतावनी तह पटकपटक पार गरेको केन्द्रले जनाएको छ । मस्र्याङ्दी नदीमा पानीको सतह बढ्दा ‘साइरन’ बज्ने व्यवस्था गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालले मस्र्याङ्दी नदीमा पानीको सतह पटकपटक बढ्ने गरेको र यसले विशेषगरी नदी तथा खोला आसपासका बस्तीमा जोखिम बढाएको बताए । 

नदी आसपासका विभिन्न स्थानमा जलविद्युत् आयोजनाले जडान गरेका साइरनबाट पानीको सतह बढेको जानकारी पाउने गरिएको उनले जानकारी दिए । पछिल्लो समय पानी पर्ने क्रम जारी रहेकाले कति बेला के हुन्छ भन्ने एकिन गर्न सक्ने अवस्था नरहेको उनले बताए । निरन्तर वर्षाका कारण नदी तथा खोला आसपासका बस्तीमा जोखिम बढ्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको उनको भनाइ छ ।

यसअघि २०७८ सालमा आएको बाढीले मस्र्याङ्दी नदी आसपासका क्षेत्रमा क्षति पुर्याएको थियो । सो बाढीका कारण लमजुङ–मनाङ सडकखण्डलगायतका भौतिक संरचनामा समेत क्षति पुगेको थियो ।

यसैबिच अविरल वर्षाका कारण पहिरो जाँदा लमजुङ–मनाङ जोड्ने एकमात्र बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । यस सडकखण्डअन्तर्गत लमजुङको बेँसीसहर नगरपालिका–६ खरखरे भिरमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । 

 

प्रकाशित मिति: बुधबार, भदौ ३१, २०८३  १५:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update