चितवन । भरतपुर महानगरपालिका–१९ स्थित शारदानगर स्वास्थ्यचौकीबाट विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गरिने भएको छ । यसका लागि भरतपुर महानगरपालिका र भरतपुर अस्पतालबीच सहकार्य भएको छ ।
पश्चिम चितवनका बासिन्दालाई सामान्य स्वास्थ्य समस्या र स्वास्थ्य बिमाको उपचारका लागि भरतपुर अस्पताल धाउनुपर्ने बाध्यता अन्त्य गर्ने उद्देश्यले सेवा विस्तार गर्न लागिएको महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले बताए ।
उनका अनुसार शारदानगर स्वास्थ्यचौकीको स्वामित्वमा रहेको दुई बिघा सात कट्ठा जग्गामध्ये १४ कट्ठा स्वास्थ्यचौकी र वडा कार्यालयका लागि सुरक्षित राखिनेछ । बाँकी जग्गा प्रचलित ऐन तथा कानुनी मापदण्ड पूरा गरी आवश्यक नापी प्रक्रिया अघि बढाएर अस्पताललाई भोगचलनका लागि दिने सम्झौतापत्रमा उल्लेख छ ।
कार्यवाहक प्रमुख अधिकारीका अनुसार महानगरपालिकाले पूर्वाधार निर्माण तथा उपकरण खरिदका लागि रु एक करोड विनियोजन गरेको छ । उक्त रकमबाट एक्स–रे र इन्डोस्कोपी मेसिन खरिद गरिनेछ भने भवन मर्मत गरी बिरामी जाँचकक्ष र प्रशासनिक काउन्टर व्यवस्थापन गरिनेछ । सुरुआती पूर्वाधार तयार भएपछि सेवाको पूर्ण सञ्चालनको जिम्मेवारी भरतपुर अस्पतालले लिनेछ ।
शारदानगर स्वास्थ्यचौकीबाट बालबालिका तथा महिलासम्बन्धी उपचार, हाडजोर्नी परीक्षण, स्वास्थ्य बिमा सेवा र प्रयोगशाला सेवासमेत उपलब्ध गराइनेछ । शल्यक्रिया वा भर्ना आवश्यक पर्ने बिरामीलाई अन्यत्र रेफर नगरी भरतपुर अस्पतालमा थप उपचारका लागि पठाइनेछ ।
भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विश्वबन्धु बगालेले अस्पतालमा बढ्दो भीडभाड कम गर्न र गुणस्तरीय स्वास्थ्य सेवा नजिकैबाट उपलब्ध गराउने उद्देश्यले सेवा विस्तार गर्न लागिएको बताए ।
उनका अनुसार सुरुआती चरणमा विशेषज्ञ सेवा सञ्चालन गरिनेछ । प्रयोगशाला र फार्मेसी सेवासमेत उपलब्ध गराइनेछ । ‘भरतपुर अस्पतालमा हामीले जुन सेवा दिन्छौँ, त्यही सेवा त्यहाँबाट पनि पाइनेछ,’ उनले भने ।
सुरुमा बहिरङ्ग (ओपिडी) सेवाबाट सञ्चालन गरिनेछ । त्यसपछि आवश्यकता र सञ्चालन क्षमताका आधारमा आकस्मिक, अन्तरङ्ग र शल्यक्रिया सेवासम्म क्रमशः विस्तार गर्दै दीर्घकालमा ठूलो अस्पतालमा रूपान्तरण गर्ने योजना रहेको डा. बगालेले बताए । उनका अनुसार सरकारी अस्पतालले पहिलोपटक यस तहको विशेषज्ञ सेवा दिन लागेको हो ।
सेवा सुरु गर्नुअघि न्यूनतम भौतिक पूर्वाधार तयार गर्नुपर्नेछ । सरसफाइ, पहुँचमार्ग, प्रतीक्षालयलगायत आवश्यक संरचना महानगरपालिकाले तयार गरेपछि सेवा सञ्चालन गरिनेछ ।रासस






