Khabar Out
तीजको दिन पनि श्रममै साकेला

खोटाङ । हिन्दु महिलाको चाड हरितालिका तीज देशभर मनाइरहेका बेला खोटाङको साकेला गाउँपालिकामा भने ‘साकेला श्रम अभियान’मार्फत सार्वजनिक पूर्वाधार संरक्षण र सरसफाइको कामलाई निरन्तरता दिइएको छ ।

अभियानअन्तर्गत वडा नं ५ मात्तिमस्थित साप्सुखोला–गाउँपालिका प्रवेशद्वार तथा त्यहाँ निर्माण गरिएका संरचनाको सरसफाइसँगै आसपासका सडकको मर्मतसम्भार गरिएको हो ।

प्रवेशद्वार क्षेत्रको सौन्दर्य कायम राख्ने, निर्माण भएका संरचनाको संरक्षण गर्ने तथा आवागमनलाई सहज बनाउने उद्देश्यले श्रम परिचालन गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष रविप्रकाश राईको नेतृत्वमा सञ्चालन गरिएको अभियानमा गाउँपालिकाका कर्मचारीको सहभागिता थियो ।

सार्वजनिक बिदाको दिनलाई समेत श्रम र सेवासँग जोड्दै गाउँपालिकाले ‘चाडपर्वसँगै आफ्नो ठाउँका लागि श्रम’ गर्ने अभ्यासलाई निरन्तरता दिएको अध्यक्ष राईले जानकारी दिए । अध्यक्ष राईले कामलाई नै विकासको आधार बनाउनुपर्नेमा जोड दिए ।

“गफ गरेर, भाषण गरेर र गालीगलौज गरेर देश बन्दैन । देश बनाउने हो भने हातमा काम, मनमा जिम्मेवारी र व्यवहारमा इमानदारी चाहिन्छ । विकास भाषणले होइन, श्रम र परिणामले देखिनुपर्छ । हामीले अरूलाई उपदेश दिनेभन्दा पहिले आफैँ श्रममा उत्रिएर उदाहरण प्रस्तुत गर्नुपर्छ”, उनले भने ।

“गाउँपालिकाका कर्मचारी केवल कार्यालयमा बसेर सेवा दिने मात्र होइन, आवश्यक पर्दा मैदानमा उत्रिएर काम गर्नुपर्छ”, उनले भने, “आजको हाम्रो श्रम सानो काम हुनसक्छ, तर यही संस्कारले भोलिको समृद्ध साकेला र समृद्ध नेपाल निर्माण गर्ने आधार तयार गर्छ ।”

गाउँपालिका प्रवेशद्वारमा निर्माण गरिएका संरचनाको नियमित सरसफाइ र संरक्षणसँगै सडकको मर्मतले गाउँपालिकाको पहिचान, सौन्दर्य तथा आवागमनलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने गाउँपालिकाको विश्वास छ । साकेला गाउँपालिकाले पछिल्लो समय श्रमलाई विकास संस्कृतिको आधार बनाउँदै सार्वजनिकस्थल सरसफाइ, सडक मर्मत, वृक्षारोपण तथा सौन्दर्यीकरणका अभियानलाई निरन्तर अघि बढाउँदै आएको छ ।

तीजको दिन गरिएको श्रमले केवल उत्सव मनाउने अवसर मात्र नभई आफ्नो गाउँ, सार्वजनिक सम्पदा र भविष्यका लागि योगदान गर्ने अवसर पनि हो भन्ने सन्देश दिएको छ । जिल्लाको सबैभन्दा सानो स्थानीय तह (पाँच वडा रहेको) यो गाउँपालिकाले हरेक हप्ताको शनिबार श्रमदान अभियान सञ्चालन गर्दै आएको छ । रासस

प्रकाशित मिति: मंगलबार, भदौ ३०, २०८३  ०९:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update