काठमाडौं । हिन्दु धर्मावलम्बी महिलाको प्रमुख पर्व हरितालिका तिज आज भाद्र शुक्ल तृतीयाका दिन देशभर विभिन्न धार्मिक तथा सांस्कृतिक गतिविधिसहित मनाइँदैछ । तिजका अवसरमा महिलाहरूले शिव–पार्वतीको पूजा आराधना गर्दै व्रत बस्ने तथा सुख, शान्ति र पारिवारिक कल्याणको कामना गर्ने परम्परा छ ।
पौराणिक कथाअनुसार हिमालय पुत्री पार्वतीले महादेवलाई पति रूपमा प्राप्त गर्न कठोर तपस्या गरेकी थिइन् । पार्वतीको इच्छाविपरीत विष्णुसँग विवाह गरिदिन खोजिएपछि उनका साथीहरूले उनलाई हरण गरी सुरक्षित स्थानमा लगेको र त्यहीँ उनले व्रत तथा तपस्या गरेको धार्मिक विश्वास छ । पार्वतीले महादेवलाई पति रूपमा प्राप्त गरेको स्मरणमा हरितालिका तिज मनाउने परम्परा चलेको मानिन्छ ।
संस्कृतका ‘हरित’ र ‘आलिका’ शब्दबाट ‘हरितालिका’ बनेको मानिन्छ। ‘हरित’ को अर्थ हरण गरिएको र ‘आलिका’ को अर्थ साथी भन्ने हुन्छ ।
तिजमा व्रत बस्दा मनोकामना पूरा हुने धार्मिक विश्वास रहे पनि सबैले निराहार व्रत बस्नैपर्ने नरहेको धर्मशास्त्रविद्हरू बताउँछन् । स्वास्थ्य तथा शारीरिक अवस्थाअनुसार निराहार, जलाहार वा फलाहारमध्ये उपयुक्त विधि अपनाउन सकिने उनीहरूको भनाइ छ ।
तिजको व्रत व्यक्तिगत मनोकामना पूरा गर्ने मात्र नभई परिवारको सुख, शान्ति र कल्याणका लागि पनि महत्त्वपूर्ण मानिन्छ । धार्मिक आस्थासँगै तिज नेपाली समाजमा सांस्कृतिक र सामाजिक पर्वका रूपमा समेत स्थापित छ ।






