Khabar Out
एक करोड ३९ लाख ठगेको अभियोगमा एक जना पक्राउ

काठमाडौँ । जेनजी आन्दोलनमा नख्खु कारागारबाट भागेका एक जना युवकलाई प्रहरीले ठगी गरेको आरोपमा पक्राउ परेको छ । पक्राउ पर्नेमा ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–१ घर भएर काठमाडौँ टोखामा बस्दै आएका २८ वर्षीय अनिष थापा मगर छन् । 

एक जना व्यक्तिसँग उनले सुन दिने बहाना बनाएर १ करोड ३९ लाख ३० हजार ठगी गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दान बहादुर थापाले रातोपाटीलाई बताए ।

सुन जस्तै देखिने पहेँलो धातु देखाएर उनले पटक पटक रकम मागेर ठगी गरेका हुन् । भदौ २५ मा उनलाई टोखा नगरपालिका–९ स्थित मिलन टोलको गेस्ट हाउसबाट प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले उनको साथबाट ८५६ ग्राम सुन जस्तो देखिने पहेँलो धातु पनि बरामद गरेको छ । आरोपी विरुद्ध ठगी सम्बन्धी कसुरमा अदालतमा ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको एसपी थापाले जानकारी दिए ।

बलात्कार मुद्दामा पुर्पक्षका लागी थुनामा रहेका थापा मगर २०८४ भदौ २४ मा जेनजी आन्दोलन हुँदा कारागारबाट भागेका थिए । उनी नख्खु कारागारबाट भागेर ठगी धन्दामा लागेको प्रहरीको अनुसन्धानले देखाएको छ । 

प्रकाशित मिति: आइतबार, भदौ २८, २०८३  २१:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update