मुस्ताङ । यही भदौ २३ गते रातिको भूकम्पपछि उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका स्थानीय, शिक्षक र विद्यार्थी त्रिपालमुनि रात कटान बाध्य भएका छन् । लोमान्थाङ केन्द्रविन्दु भएर गएको पाँच दशलव तीन म्याग्निच्युडको भूकम्पको धक्काले लोमान्थाङका ८० प्रतिशत घर चर्किएका छन् ।
लोमान्थाङको दिव्यदीप स्कुलको विद्यार्थी छात्रावासको भवन तथा शिक्षक आवास पनि भूकम्पले चर्किएपछि बस्नै नमिल्ने भएको हो । लोमान्थाङ गाउँपालिकामा भूकम्पले सामान्य क्षति पुर्याए पनि पालिकाका अन्य चार वडामा स्थानीयका अधिकांश घर बस्नै नमिल्ने गरी मध्यम तथा पूर्ण रूपमा क्षति भएका गाउँपालिका कार्यालयले जनाएको छ ।
गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले भदौ २३ गते रातिको भूकम्पले पालिकाभित्रका स्थानीयका ढुङ्गा र माटोले निर्मित ८० प्रतिशत घरमा क्षति पुगेको बताए । उनका अनुसार भूकम्पले अधिकांश घरहरू चर्किएका छन् भने करिब ६० घर बस्नै नमिल्ने गरी क्षतिग्रस्त भएको छन् । अध्यक्ष गुरुङले भूकम्पपछि पनि पटकपटक पराकम्पनको असर परिरहेको जनाए ।
भूकम्पले स्थानीयका घर र विद्यालय चकिनुका साथै मानवीय क्षति नभए पनि जोखिम भने बढेको उनले बताए । जोखिम अझै कायम रहेकाले क्षति भएका घरका स्थानीय, विद्यालयका शिक्षक तथा विद्यार्थी खुल्लाचौरमा त्रिपाल टाँगेर बस्न बाध्य भएका उनले जानकारी दिए ।
भूकम्प प्रभावित स्थानीय र विद्यालयका लागि वैकल्पिक रूपमा स्थानीयस्तरबाटै आवश्यक व्यवस्था मिलाइएको बताउँदै पालिका स्वयं पनि त्रिपाल खरिद गर्ने प्रक्रियामा रहेको अध्यक्ष गुरुङले जानकारी दिए । गाउँपालिकाले भूकम्पको क्षति लगत सङ्कलन गरिरहेकाले पूर्ण क्षतिको विवरण आउन केही समय लाग्ने जनाइएको छ ।
भूकम्पले सबैभन्दा क्षति लोमान्थाङ–३ फुवा गाउँमा परेको छ । फुवामा करिब ५०० बढी घर बस्न नमिल्ने गरी पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । अन्य वडाहरूमा पनि भूकम्पको असरले अधिकांश घरहरू चकिएर धुजा परेका स्थानीय बताउँछन् ।
भूकम्प प्रभावित नागरिकले सरकारले भूकम्प पीडितका लागि पुनःस्थापना तथा पुनःनिर्माणमा सहयोग गर्नुपर्ने माग गरेका छन् । उक्त भूकम्पले विद्यालयको छात्रावास भवन, शिक्षक आवास र भण्डारणका भवनमा क्षति पुगेको दिव्यदीप माध्यमिक विद्यालयका प्रधानाध्यापक कमलेशकुमार त्रिपाठीले जानकारी दिए । विद्यालयको दुई तलाको ३४ कोठे ढुङ्गा र माटोले बनेका छात्राबासको अधिकांश भाग चर्किएका उनले उल्लेख गरे ।
चौरासी जना विद्यार्थी रहेको उक्त विद्यालयमा भूकम्पपछि विद्यार्थी र शिक्षकहरू कक्षा कोठा र त्रिपालमुनि रात बिताइरहेका प्रधानाध्यापक त्रिपाठीले जानकारी दिए । भूकम्पले विद्यालय तथा आवासमा क्षति पुर्याएपछि नियमित शैक्षिक पठनपाठनमा समस्या परिरहेको उनले जनाए ।
भूकम्पपछि लोमान्थाङ गाउँपालिकासहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र एक्याप लोमान्थाङ लगायतको टोलीले क्षति विवरण सङ्कलन गरिहेको छ । प्रभावित क्षेत्रका नागरिक तथा विद्यालयको पुनःस्थापना तथा अन्य सहयोगका लागि सुरक्षाकर्मीसहितको टोली खटिएका छन् । भूकम्पले लोमान्थाङमा रहेको छोदे गुम्बाको पर्खाल भत्किएको छ भने ऐतिहासिक लोमान्थाङ दरबारसमेत चर्किएको छ ।
यसैबीच शुक्रबार जिल्ला समन्वय समिति मुस्ताङको एक टोलीले भूकम्प प्रभावित लोमान्थाङ गाउँपालिकाको स्थलगत निरीक्षण तथा क्षति विवरण सङ्कलन गरेको छ । जिल्ला समन्वय समितिका प्रमुख माया गुरुङ, समन्वय अधिकारी घनश्याम सुवेदी, इञ्जिनियर डबल तामाङलगायतको टोली भूकम्प प्रभावित गाउँमा पुगेर स्थानीयको समस्या बुझ्ने प्रयास गरिएको छ । लोमान्थाङमा फेरि पनि भूकम्प आउने डरले स्थानीयहरू त्रासमा छन् ।






