भोटेकोशी बाढी पीडितलाई बेनी नगरपालिकाको करिब रु ४० लाख सहयोग
म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको बाढीबाट प्रभावितका लागि करिब रु ४० लाख सहयोग गरेको छ ।
बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारकार्यमा सहयोग पुर्याउने उद्देश्यले रु ३९ लाख ९४ हजार ३६६ सहयोग गरिएको नगरपालिकाले जनाएको छ । उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको नगर उपप्रमुख ज्योती लामिछानेले जानकारी दिइन् ।
जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी र शिक्षकको पारिश्रमिकबाट कट्टी गरी उक्त रकम सहयोग गरिएको उनले बताइन् । यसअघि म्याग्दीका धवलागिरी, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट रु दुई/दुई लाख सहयोग गरिसकेका छन् । रासस
प्रकाशित मिति: शनिबार, भदौ २७, २०८३ ०९:१८
प्रतिक्रिया दिनुहोस्






