काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित तथा घरबारविहीन परिवारको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले प्रभु बैंकका सञ्चालक तथा कर्मचारीहरूले स्वेच्छिक रूपमा संकलन गरेको रु। ४० लाख ८० हजार ५० रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेका छन् ।
विपद्को कठिन घडीमा प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले बैंकका सञ्चालक तथा कर्मचारीबाट संकलित उक्त रकमको चेक बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले अर्थमन्त्रीलाई हस्तान्तरण गरेका हुन् ।
यसअघि पनि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रु. २ करोड ११ लाख ११ हजार १११ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी सहयोग रकमको चेकसमेत हस्तान्तरण गरिसकेको छ ।
त्यसैगरी बाढीबाट प्रभावित परिवारलाई राहत उपलब्ध गराउने उद्देश्यले प्रभु बैंकले १०० थान टेन्ट र १०० थान स्लिपिङ ब्याग जिल्ला प्रशासन कार्यालय, नुवाकोटमार्फत प्रभावित परिवारलाई उपलब्ध गराएको थियो ।
प्राकृतिक विपद्का कारण ज्यान गुमाउने स्वदेशी तथा विदेशी नागरिकहरूप्रति प्रभु बैंकले श्रद्धाञ्जली व्यक्त गरेको छ। साथै, सम्पर्कविहीन नागरिकहरूको शीघ्र उद्धार तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै विपद्बाट प्रभावित सम्पूर्ण समुदायप्रति बैंकले गहिरो समवेदना व्यक्त गरेको छ ।
प्रभु बैंकले विपद्को यस कठिन घडीमा प्रभावित नागरिक तथा समुदायको राहत, उद्धार र पुनःस्थापनाका प्रयासमा आफ्नो सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।






