Khabar Out
भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आसमा आमाबुवा

बर्दिया । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले एउटै परिवारका दुई जना बेपत्ता भएपछि आफन्त घर फर्कने आसमा पर्खिरहेका छन् । भदौ १० गते आएको बाढीमा छोराबुहारी (दीपेन्द्र र फूलमाया तमाङ) सम्पर्कविहीन बनेपछि बारबर्दिया नगरपालिका–१ मुर्गिहवाका आँशुराम थारु र कइरी थारु छोराबुहारी फर्किने आशमा दिनरात बाटो हेरिरहेका छन् ।

बुवाआमासँग सम्पर्क टुटेपछि उनीहरूका छोराछोरी अहिले मामाको साहरामा काठमाडौँमा छन् । छोराबुहारीको अवस्थाबारे कुनै खबर नपाउँदा बुवाआमाको पर्खाइसँगै बालबालिकाको भविष्यसमेत अन्योलमा परेको आँशुरामले बताए।

छोरा सम्पर्कमा आउने आशामा बुबा आँशुराम मोबाइलमा घण्टी बज्यौ कि तुरुन्तै फोन उठाउँछन्। घरको बाटोतिर पनि आँखा लगाइरहन्छन्। “छोराबुहारी भेटिएको फोन कतैबाट आयो कि भनेर तुरुन्तै उठाउने गर्छु”, उनले भने, “घर आउँदैछन् कि भनेर बाटो हेर्छु । तर, अहिलेसम्म कतैबाट कुनै खबर आएको छैन ।” छोराबुहारी सम्पर्कविहीन भएपछि उहाँलाई नातिनतिनालाई कसरी शिक्षा दीक्षा दिने भन्ने चिन्ता थपिएको छ ।

“छोराबुहारीको अवस्थाबारे कुनै जानकारी नहुँदा परिवारका सदस्य विक्षिप्त बनेका छन् । हामीलाई छोराबुहारी भेटाइदेउ भनेर रातदिन भगवानसँग प्रथना गरिरहेका छौँ”, निराश हुँदै उनले भने, “सरकार तथा सरोकार भएका निकायले छिटो बेपत्ताको खोजी गरी वास्तविक आवस्था पत्ता लगाएर जानकारी दिनुपर्‍यो । यदी नभेटिएमा शव दिनुपर्छ । नातिनतिनालाई पढाइका लागि आवश्यक व्यवस्था गरिनुपर्छ ।”

रसुवाको सल्लेटारमा दीपेन्द्र होटल सञ्चालन गर्दै परिवारसहित बस्दै आएका थिए । भदौ १० गते भोटेकोशीमा आएको बाढीले दीपेन्द र श्रीमती फूलमाया सम्पर्कविहीन भएका छन् । बाढी आउँदा दीपेन्द्रका छोरा र छोरी विद्यालय गएका थिए । विद्यालय गएकाले छोराछोरी सुरक्षित भए भने आफ्नै होटलमा रहेका दीपेन्द्र र पत्नी फूलमाया बाढीपछि सम्पर्कविहीन भएका बुबा आँशुरामले जानकारी दिए।

दीपेन्द्रका छोरा दीप थारु आठ वर्षका छन्, भने छोरी दीक्षा छ वर्षकी छिन् । उनीहरू दुवै जना रसुवाको स्थानीय विद्यालयमा अध्ययनरत थिए । बाढीपछि अभिभावकविहीन बनेपछि उद्धार गरी काठमाडौँ लगिएको हो । अहिले मामा उत्तम तामाङसँग बसिरहेका परिवारले जानकारी दिएको छ।

“बेपत्ता भएका दीपेन्द्र विगत ११ वर्षदेखि रसुवामा बस्दै आएका थिए । सुरुमा कामदारका रूपमा रसुवास्थित चाइना कम्पनीमा काम गर्दथे । त्यसको दुई वर्षपछि रसुवाकी फूलमायासँग विवाह भयो । पछि सबै परिवार यहाँ करिब तीन वर्ष बस्यो । चाइनामा काम गर्न जाने भनेर दिपेन्दले सात वर्षअघि बसाइँसराइ गरेर परिवारसहित रसुवा बसिरहेको थियो”, बुबा आँशुरामले भने । बसाइँसराइ गरेको एक वर्षपछि रसुवामा होटल चलाएर बसिरहेका छोराबुहारी बाढीपछि सम्पर्कविहीन भएको उनले दुखेसो पोखे।

आँशुरामका ६ भाइ छोरा छन् । तीमध्ये राइला छोरा हुन् दिपेन्द्र । दीपेन्द्र जस्तै सबै छोरा काठमाडौँ, पोखरा, नुवाकोटलगायत विभिन्न ठाउँमा काम गरिरहेका छन् । छोराबुहारी बाढीपछि सम्पर्कविहीन भएपछि परिवारका सबै सदस्य दीपेन्द्र र फूलमायाको खोजीमा चितवन, धादिङ, नुवाकोट र काठमाडौँका विभिन्न अस्पताल तथा होल्डिङ सेन्टरसम्म पुगेका छन् ।

“कतै पनि भाइबुहारीको अवस्था पत्ता लाग्न नसकेको बताएका छन् । छोराबुहारी कतै भेटिन्छन् कि भनेर चितवन, धादिङ, नुवाकोट र काठमाडौँसम्म सबै ठाउँमा छोराहरूले खोजी गरे”, बुबा आँशुरामले भने, “तर, भेटिएन । अहिले त अरु छोराहरू पनि आआफ्नो काम फर्किएका छन् ।”

कामको सिलसिलामा रसुवा र नुवाकोट पुगेका दीपेन्द्र जस्तै बर्दियाका ७६ जना अझै सम्पर्कविहीन रहेका जिल्ला प्रशासन कार्यालय बर्दियाका विपद् सम्पर्कव्यक्ति लोकप्रसाद ढकालले जानकारी दिए। “बारबर्दियाका मात्रै २५ जना सम्पर्कविहीन छन् । हालसम्म ५३ जना घर फर्किसकेका छन्”,उनले भने।

प्रकाशित मिति: शुक्रबार, भदौ २६, २०८३  २१:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update