काठमाडौँ । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदैछन् ।
यो पर्व प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइन्छ । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिनमात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको प्रा डा देवमणि भट्टराईले राससलाई जानकारी दिए ।
सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् । सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गरेकाे धार्मिक विश्वास छ । आजका दिन घरघरमा राखिएको कुश वर्षभर हुने देवकार्य एवं पितृकार्यमा प्रयोग गरिन्छ ।
पितृसम्मान दिवस
यसै अवसरमा आज छोराछोरीले परम्पराअनुसार आआफ्ना बाबुलाई मन पर्ने मिठाइ तथा भोजन खुवाइ आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् । बाबु नहुनेहरूले विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन् ।
आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ । यसैले आजको औँसीलाई गोकर्णे औँसीका नामले चिनिन्छ । यस अवसरमा गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेको घुइँचो लाग्छ ।
मेलाका सबै तयारी गरिएको मन्दिर क्षेत्र प्रबन्ध समितिको अध्यक्षसमेत रहनुभएका गोकर्णेश्वर नगरपालिका वडा नं ४ का अध्यक्ष जयराम महतले जानकारी दिनुभयो । यसैगरी रसुवा र नुवाकोट सङ्गमस्थल वेत्रावतीमा पनि लाग्ने मेला लाग्छ । बेत्रावतीमा पिता दिवङ्गत भएकाहरू तर्पण, सिदादान र पिण्डदान गर्न पुग्ने गर्छन् । यस वर्ष भोटेकोशी बाढीका कारण बेत्रावतीमा मेला लाग्ने–नलाग्ने निश्चित भएको छैन ।
‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीले आफ्ना जीवित बाबुलाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्छ । बाबु परलोक भइसकेकाले गोकर्ण अथवा अन्य तीर्थस्थलमा गई तर्पण तथा सिदादान गरेमा पुण्य मिल्नाका साथै आफ्नो कुल स्थिर हुने ‘बुद्धोक्त पाराजिकाय’ नामक धर्मग्रन्थमा उल्लेख छ । आजको दिनमा थोरै दान गरे पनि हजारौँ गुणा बढी फल पाइने भएकाले पुण्य पर्वका रूपमा लिइन्छ । रासस






