तनहुँ । विश्व बैंकको सहयोगमा स्तरोन्नति सुरु भएको व्यास नगरपालिकास्थित चार वडा जोड्ने सडकको काम सुस्त हुँदा सर्वसाधारणले सास्ती खेपेका छन् । विसं २०८१ जेठदेखि सुरु भएको उक्त सडकको हालसम्म ४७ प्रतिशत भौतिक प्रगति भएको हो।
विश्व बैंकको सहयोगमा सहरी शासकीय तथा पूर्वाधार विकास आयोजनाअन्तर्गत व्यास नगरपालिका–७, ९, १० र ११ जोड्ने पराशर मार्ग स्तरोन्नतिको काम अगाडि बढाइएकामा निर्माण व्यवसायीको ढिलासुस्तीले कामले गति लिन नसकेको हो । उक्त खण्डको काम सुस्त हुँदा सो मार्ग हुँदै यात्रा गर्ने सर्वसाधारणले धुलो र हिलोको समस्या खेप्नुपरेको स्थानीय लोकराज सेढाईँले बताए ।
सो मार्गअन्तर्गत बुल्दीखोला–बेलटारी–फराकचौर–अधेरीभञ्ज्याङ–कुमालगाउँ–समता स्कुल–कलेस्ती सडक कालोपत्रे गरिनेछ । उक्त खण्डमा १०.५५ किलोमिटर बराबरको दूरी कालोपत्रे हुने व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले बताए ।
सडक स्तरोन्नतिका लागि विसं २०८१ वैशाख १६ गते निर्माण कम्पनीसँग सम्झौता भएको थियो । सडक स्तरोन्नतिका लागि रु ४० करोड ८३ लाख ३५ हजार ९२१ मा निर्माण कम्पनी बिकेएचटिडिसीएल एसिपीएल जेभी कालीमाटीसँग सम्झौता भएको थियो । सडक स्तरोन्नतिका लागि २०८० साल पुस २६ गते रु ५२ करोड ७८ लाख ३० हजार ४२७ को ठेक्का आह्वान भएको थियो ।
विसं २०८२ असारसम्म यसको म्याद रहेकामा काम नसकिएपछि २०८३ असारसम्म म्याद थप भएको थियो । उक्त समयमा पनि काम सम्पन्न हुन नसकेपछि आगामी असोज मसान्तसम्म म्याद थप भएको लम्सालले बताए ।
सो सडकखण्डमा कालोपत्रे, नाला तथा अन्य संरचना निर्माण गरिने छ । सो सडकले व्यास नगरपालिका–११ स्थित बुल्दीखोला, बेल्टारी, फराकचौर, व्यास नगरपालिका–१० अधेरीभञ्ज्याङ, पोख्रेलफाँट, व्यास नगरपालिका–९ कुमालगाउँ, व्यास नगरपालिका–७ समता स्कुल, कलेस्तीलगायतका ठाउँ जोड्छ । रासस






