रुपन्देही । बाढीपछि उत्पन्न विपद्को समयमा सामाजिक सञ्जालमार्फत अफवाह, गलत सूचना तथा सामाजिक सहिष्णुतामा आघात पु-याउने गतिविधिविरुद्ध नेपाल प्रहरीले निगरानी बढाएको छ।
नेपाल प्रहरीले सामाजिक सहिष्णुतामा आघात पु-याउने अभिव्यक्तिसहितका भिडियो सामग्री प्रसारण, पोस्ट वा सेयर गरी समाजमा घृणा, द्वेष र अफवाह फैलाउने प्रयोगकर्ताको निगरानी तथा पहिचान गरी सख्त कारबाही गर्ने जनाएको छ ।
सामाजिक सञ्जालको दुरुपयोग गरी असान्दर्भिक टीकाटिप्पणीमार्फत समाजलाई भ्रमित नपार्न अनुरोध गर्दै नेपाल प्रहरीले केन्द्रमा साइबर ब्यूरोका प्रहरी नायब उपरीक्षक गजेन्द्र आचार्यको संयोजकत्वमा १० सदस्यीय समिति गठन गरी निगरानीलाई तीव्रता दिएको जनाएको छ ।
यसै सन्दर्भमा फेसबुक, टिकटक, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालमार्फत गलत सूचना, अफवाह तथा भ्रामक सामग्री प्रसारण गर्ने, विपद्को समयमा राहत सङ्कलनका नाममा ठगीधन्दामा संलग्न हुने तथा पीडामा रहेका व्यक्ति र परिवारजनका विषयमा अनावश्यक टिप्पणी गरी सामाजिक सद्भावमा असर पार्ने र पीडितलाई थप मानसिक पीडा दिने किसिमका सामग्री प्रसारण नगर्न लुम्बिनी प्रदेश प्रहरी कार्यालयले सचेत गराएको छ ।
यसबीच लुम्बिनी प्रदेश प्रहरी प्रमुख एवं प्रहरी नायब महानिरीक्षक भूपेन्द्रबहादुर खत्रीले रसुवा बाढीपछि देश तथा विदेशमा समेत चिन्ता र चासो छाइरहेको दुःखको यस घडीमा नागरिकको जिउधनको सुरक्षासहित शान्ति सुव्यवस्था कायम गर्न प्रदेश प्रहरी संयन्त्र अहोरात्र खटिएको बताएका छन् ।
उनले प्राकृतिक विपद्को समयमा पनि चोरी, ठगी तथा डकैतीलगायत आपराधिक गतिविधि न्यूनीकरण तथा नियन्त्रणमा प्रदेश प्रहरी सचेत रहेको बताए । चोरी, तस्करी, लागुऔषध कारोबार तथा सीमा क्षेत्रमा हुने अवैध गतिविधिमाथिको निगरानीलाई तीव्र बनाइएको उनको भनाइ छ ।
उनका अनुसार सामान्य छिटपुट घटनाबाहेक पछिल्लो समयमा प्रदेशको अवस्था सामान्य छ ।
प्रहरी प्रशासनको सक्रियताका कारण दाङ–तुलसीपुरबाट ११ बोरा पटाकासहित २१ वर्षीय प्रेम कसौधन र २१ वर्षीय सञ्जीव गुप्ता तथा नवलपरासी–प्रतापपुरबाट स्रोत नखुलेको २१ लाख ६० हजार रुपैयाँ नगदसहित पाँच जनालाई नियन्त्रणमा लिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । रासस






