चितवन । यहाँको कारागार रहेका कैदीबन्दीले भोटेकोशी बाढीप्रभावितलाई सहयोग गरेका छन् । कैदीबन्दीले आर्थिक सङ्कलन र श्रमदान गरी प्रभावित परिवारलाई बन्दोबस्तीका सामान सहयोग गरेका हुन् ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालयलाई सोमबार कारागार परिसरभित्र उनीहरुले ती सामग्री हस्तान्तरण गरेका हुन् । उनीहरुले डसना, ब्लाङ्केट, तन्ना, सिरानी, सिरानीको खोल, गम्छा, नङ्कटर, साबुन, दाँत माझ्ने ब्रस, मन्जन र काहियो १२५ सेटका दरले उपलब्ध गराएका हुन् ।
कैदीबन्दीले रु १०० देखि रु दुई हजारसम्म नगद र श्रम दानगरी ती सामाग्री उपलब्ध गराइएको हो । रु तीन लाख ६७ हजार ३६ बराबरको सामान खरिद गरी डसना र सिरानी कारागार परिसरमानै बनाइएको सो अवसरमा जानकारी दिइयो ।
प्रमुख जिल्ला अधिकारी अर्यालले कारागार जीवन बिताइरहेकाबाट गरिएको यो सहयोग उदाहारणीय र नमूना किसिमको भएको बताए । कारागारमा हाल ७५० जना कैदीबन्दी रहेका छन् । जसमध्ये ७०८ जना पुरुष र ४२ जना महिला छन् । रासस






