दमौली। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका व्यक्तिको पहिचानका लागि ‘डीएनए’ नमूना सङ्कलन गर्न तनहुँ प्रहरीले बेपत्ताका आफन्तलाई सम्पर्कमा आउन आग्रह गरेको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले बाढीमा बेपत्ता भएका व्यक्तिका आफन्तलाई आवश्यक ‘डीएनए’ नमूना उपलब्ध गराउन आग्रह गरिएको जानकारी दिएका हुन् ।
हालसम्म बेपत्ता व्यक्तिको पहिचानका लागि कसैले ‘डीएनए’ नमूना नदिएको घिमिरेले बताए। बाढीले बगाएका शवमध्ये तनहुँको आँबुखैरेनी र देवघाटस्थित त्रिशुली नदीबाट हालसम्म ३९ वटा शव फेला परेका छन्। तीमध्ये २४ वटा शव पोखरा पठाइएको थियो भने १५ वटा शव व्यास नगरपालिका–५ चनौली क्षेत्रमा व्यवस्थापन गरिएको छ ।
यसैबीच, तनहुँ घर भएका ३३ जना व्यक्ति बाढीपछि सम्पर्कविहीन भएको विवरण प्राप्त भएकामा हालसम्म नौ जना सम्पर्कमा आएका छन् । बाँकी व्यक्तिको खोजी तथा पहिचानका लागि प्रहरी र सम्बन्धित निकायले निरन्तर काम गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस






