सुनसरी। घरको काम मिलाएर उद्योग आउने र कहिलेकाहीँ ११ घण्टासम्म पनि काम गर्ने गरेको वराहक्षेत्र नगरपालिका–५ की बबिता बस्नेतले बताएकी छन्।
प्लाइ उद्योग स्थापना भएदेखि नै काम गर्दै आएकी उनले काठका पाता बोक्ने, टिप्ने, सुकाउने तथा गाडीमा सामान राख्ने र झार्ने काम गरेर कमाएको पैसाले घरपरिवारको दैनिक खर्च तथा बालबालिकाको खाजा खर्च जुटाउन सहज भएको जानकारी दिएकी हुन्।
जितमाया श्रेष्ठ र सुरेश साहको संयुक्त लगानीमा भेनियर उत्पादनसँगै गाउँमै रोजगारी बढाउने उद्देश्यले २०८१ माघमा स्थापना गरिएको प्लाइउड उद्योगले २०८२ वैशाखदेखि व्यावसायिक उत्पादन सुरु गरेको हो। उद्योगका व्यवस्थापन तथा लेखा प्रमुख दीपक रानामगरका अनुसार स्थानीय रोजगारीका लागि उद्योग प्रभावकारी देखिएको छ। वराहक्षेत्र–५ कालाबन्जरमा ७२ कट्ठा जग्गा लिजमा लिएर १ करोड ५० लाख रुपियाँ लगानीमा सञ्चालित उद्योगमा हाल ६० देखि ६५ जना स्थानीयले प्रत्यक्ष रोजगारी पाएका छन्।
स्थानीयस्तरमा पुरुष श्रमिक पाउन कठिनाइ भएपछि उद्योगमा महिला श्रमिकको सङ्ख्या बढी रहेको छ। उद्योगले दैनिक ८० हजारदेखि १ लाख स्क्वायरफिटसम्म भेनियर उत्पादन गर्छ। गाउँमै उद्योग खुलेपछि रोजगारीका लागि बाहिर जानुपर्ने बाध्यता हटेको र परिवारसँगै बसेर कमाएको आम्दानीले घरखर्च चलाउन सहयोग पुगेको श्रमिक रोशन चौधरीले बताए।
श्रमिकलाई कामअनुसार प्रतिघण्टाका दरले पारिश्रमिक दिने गरिएको छ। उत्पादन सुरु गर्दा दक्ष प्राविधिकको अभावमा भारतबाट जनशक्ति ल्याउनुपरे पनि अहिले नेपाली श्रमिकले नै मेसिन सञ्चालनलगायतका काम सिकिसकेका छन्। उद्योगले भेनियर उत्पादनका लागि उत्तिस, कटुस र चिलाउने जातका गोलिया काठ प्रयोग गर्दै आएको छ। आवश्यक काठ तेह्रथुम, खोटाङ र भोजपुर जस्ता पहाडी जिल्लाबाट ल्याइन्छ।
मेसिनमार्फत गोलिया काठलाई पातलो तहमा काटेर तयार गरिएको भेनियर इटहरी, इनरुवा, झापा, नेपालगन्ज र कोहलपुरका प्लाइउड उद्योगमा बिक्री हुने गरेको छ। यसका साथै भारतको उत्तर प्रदेश, राजस्थान र सिलीगुडीसम्म पनि भेनियर पठाउने गरिएको छ।
वार्षिक ५ करोड रुपियाँ बराबरको कारोबार गर्दै आएको यस उद्योगले उत्पादनका क्रममा निस्कने दाउरा र काठका टुक्रा बिक्री गरेर थप आम्दानीसमेत गर्छ। ठूला दाउरा प्रतिट्रक ५ हजार रुपियाँसम्म र साना टुक्रा प्रतिकिलो ३ देखि ५ रुपियाँसम्म बिक्री हुने गरेको छ । रासस






