Khabar Out
अस्पताल नवीकरणको अवधि ५ वर्ष बनाउन लुम्बिनीका निजी अस्पताल सञ्चालकको माग

रुपन्देही। लुम्बिनी प्रदेशका निजी अस्पताल सञ्चालकले अस्पताल नवीकरणको विद्यमान प्रावधानलाई व्यावहारिक बनाउन माग गरेका छन्।

अन्य प्रदेशमा नवीकरणको अवधि बढाइएको उल्लेख गर्दै उनीहरूले लुम्बिनीमा पनि नवीकरणको अवधि तीन वर्षबाट बढाएर पाँच वर्ष कायम गर्न सरकारसँग आग्रह गरेका हुन्।

रुपन्देहीको बुटवलमा लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दीपेन्द्र पुनसँग आइतबार भएको भेटमा निजी अस्पताल सञ्चालकले अस्पताल सञ्चालन तथा नवीकरणसँग सम्बन्धित विद्यमान व्यवस्थाका कारण अनावश्यक प्रशासनिक झण्झट व्यहोर्नुपरेको गुनासो गरेका छन्।

निजी स्वास्थ्य संस्थाको नियमित अनुगमन तथा नियमन आवश्यकताअनुसार जुनसुकै समयमा गर्न सकिने भएकाले नवीकरणको अवधि बढाउँदा व्यावहारिक हुने उनीहरूको भनाइ थियो। अस्पतालको नवीकरणका लागि पटक-पटक प्रशासनिक प्रक्रिया पूरा गर्नुपर्ने अवस्थाले स्वास्थ्य सेवा प्रवाहमा असहजता सिर्जना गरेको उनीहरूले बताएका छन्।

तिनाउ अस्पताल बुटवलका पूर्वअध्यक्ष रुद्र कार्कीले निजी स्वास्थ्य संस्थाको नवीकरण अवधि बढाउनेसँगै निजी स्वास्थ्य क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउन प्रदेश सरकारले स्पष्ट नीति लिनुपर्ने बताएका छन्। निजी अस्पताल र स्वास्थ्य संस्थाले प्रदेशको स्वास्थ्य सेवामा महत्त्वपूर्ण योगदान गरिरहेकाले सरकार र निजी क्षेत्रबिच समन्वय तथा सहकार्य आवश्यक रहेको उनले उल्लेख गरे।

भेटमा निजी अस्पताल सञ्चालकले नवनियुक्त स्वास्थ्यमन्त्री पुनलाई बधाई दिँदै निजी स्वास्थ्य क्षेत्रसँग सहकार्य गरेर सुधारका काम अघि बढाउन आग्रह गरेका थिए। उनीहरूले निजी क्षेत्रका स्वास्थ्यकर्मी तथा जनशक्तिका लागि तालिमको व्यवस्था गर्नुपर्ने, अस्पतालजन्य फोहरमैला व्यवस्थापनमा सहजीकरण गर्नुपर्ने र समस्या समाधानका लागि नियमित संवादको व्यवस्था गर्नुपर्ने माग राखेका छन्।

निजी अस्पताल सञ्चालकले राखेका माग र सुझावका विषयमा मन्त्री पुनले आवश्यक छलफल तथा सहजीकरण गर्ने आश्वासन दिएका छन् । रासस

प्रकाशित मिति: सोमबार, भदौ २२, २०८३  ०९:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update