नुवाकोट । बाढी प्रभावित परिवारलाई सञ्चारमा सहजता प्रदान गर्ने उद्देश्यले सुविसुले नुवाकोटका विभिन्न राहत शिविर तथा प्रभावित समुदायमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराएको छ ।
विदुर–८, हात्तीगौडास्थित भैरुम माध्यमिक विद्यालयको विपद् राहत शिविरमा आश्रय लिइरहेका २०० भन्दा बढी बाढी प्रभावित नागरिकलाई आफ्ना परिवार तथा आफन्तसँग सम्पर्कमा रहन र आवश्यक सूचना आदानप्रदान गर्न सहज होस् भन्ने उद्देश्यले सुविसुले उक्त सेवा उपलब्ध गराएको हो । विद्यालयका प्रधानाध्यापक शिवराम श्रेष्ठ तथा समाजसेवी रमेश श्रेष्ठसँगको समन्वयमा सेवा सञ्चालन गरिएको सुविसुले जनाएको छ ।

प्रधानाध्यापक शिवराम श्रेष्ठले राहत शिविरमा रहेका नागरिकका लागि निःशुल्क इन्टरनेट सेवाले परिवार तथा आफन्तसँग सम्पर्कमा रहन सहज बनाएको बताए । कठिन परिस्थितिमा प्रभावित परिवारहरूको सञ्चार आवश्यकतालाई ध्यानमा राख्दै गरिएको सहयोगका लागि उनले सुविसुप्रति आभार व्यक्त गरे ।
समाजसेवी रमेश श्रेष्ठले विपद्को समयमा सञ्चार अत्यन्त महत्वपूर्ण हुने उल्लेख गर्दै निःशुल्क इन्टरनेट सेवाले राहत शिविरमा रहेका बाढी प्रभावित परिवारलाई आफन्तसँग सम्पर्कमा रहन ठूलो सहयोग पुगेको बताए ।
यसैगरी, विदुर–५, पिपलटारस्थित चन्द्र ज्योति माध्यमिक विद्यालयमा पनि बाढी प्रभावित परिवार तथा आश्रय लिइरहेका नागरिकको सञ्चार आवश्यकतालाई ध्यानमा राख्दै सुविसुले निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराएको छ ।

विद्यालयका प्रधानाध्यापक बासुदेव पंगेनीले विपद्को कठिन परिस्थितिमा विद्यालयमा बसोबास गरिरहेका प्रभावित परिवार तथा नागरिकका लागि करिब ३००–४०० जनालाई निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराइनु महत्वपूर्ण सहयोग भएको बताए । प्रभावित परिवारलाई आफ्ना परिवार तथा आफन्तसँग सम्पर्कमा रहन सहज बनाउने यस सहयोगका लागि उनले सुविसुप्रति हार्दिक आभार व्यक्त गरे ।
विपद्को समयमा सञ्चार केवल सुविधा नभई आवश्यकताको विषय बन्ने भएकाले प्रभावित समुदायलाई निरन्तर सम्पर्कमा राख्न इन्टरनेट सेवाले महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ । समुदायको आवश्यकताअनुसार सहयोग पुर्याउने उद्देश्यले सुविसुले नुवाकोटका विभिन्न राहत शिविर तथा प्रभावित समुदायमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको जनाएको छ ।






