काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रभु बैंक लिमिटेडले दुई करोड ११ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
गत भदौ १० गते बिहान रसुवा जिल्लामा पर्ने भोटेकोशी नदीमा अचानक आएको विनाशकारी बाढीले भोटेकोशी तथा त्रिशूली नदी किनारमा बसोबास गर्दै आएका नागरिकहरूलाई अपूरणीय मानवीय तथा भौतिक क्षति पुर्याएको थियो । उक्त प्राकृतिक विपत्तिले राष्ट्रलाई समेत ठूलो जनधनको क्षति पुर्याएको सन्दर्भमा बैंकले पीडित तथा प्रभावित परिवारहरूको सहयोगका लागि उक्त रकम प्रदान गरेको जनाएको छ ।
विपद्को यस दुःखद घडीमा पीडितहरूको खोजतलास, उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले प्रभु बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल सरकारलाई उक्त आर्थिक सहयोग उपलब्ध गराएको हो ।
यसैक्रममा १६ गते अर्थ मन्त्रालयमा आयोजित एक समारोहमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी अर्थमन्त्री डा। स्वर्णिम वाग्लेलाई दुई करोड ११ लाख ११ हजार १११ रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा प्रभु बैंकका तर्फबाट अध्यक्ष किशोर जंग कार्की, सञ्चालक राजु पौडेल तथा सञ्चालक डा। अम्बिका शर्मा लामिछानेको समेत उपस्थिति रहेको थियो ।
प्रभु बैंक परिवारले उक्त अकल्पनीय विपत्तिका कारण ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ । साथै सम्पर्कविहीन तथा घाइतेहरूको शीघ्र उद्धार र उपचारको कामना गर्दै बाढीबाट प्रभावित सम्पूर्ण समुदायप्रति गहिरो समवेदना व्यक्त गरेको बैंकले जनाएको छ ।
बैंकले विपद्को कठिन परिस्थितिमा प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि आवश्यक सहयोग गर्न प्रतिबद्ध रहेको समेत जनाएको छ ।






