काठमाडौं । प्राकृतिक विपद्बाट प्रभावित भोटेकोशी बाढीपीडित परिवारहरूको सहयोगका लागि सिद्धार्थ वनस्थली इन्स्टिच्युटले राहत संकलन गरेको छ।
राहत राहत संकलन अन्तर्गत बाढीबाट प्रभावित परिवारहरूका लागि खाद्यान्न, खानेपानी तथा दैनिक जीवनमा आवश्यक पर्ने विभिन्न सामग्रीहरू संकलन गरिएको विद्यालयले जनाएको छ । विद्यार्थी र अभिभावकहरूले उत्साहका साथ राहत सामग्री सहयोग गर्दै विपद्मा परेका नागरिकप्रति ऐक्यबद्धता जनाएका छन् ।
प्रिन्सिपल रुपक राजवंशीले विपद्को समयमा एकअर्कालाई सहयोग गर्नु मानवताको सबैभन्दा ठूलो धर्म भएको बताउँदै सिद्धार्थ वनस्थली इन्स्टिच्युटले शिक्षा प्रदान गर्नुका साथै विद्यार्थीहरूमा सामाजिक उत्तरदायित्व, सहानुभूति र मानवताको भावना विकास गर्न निरन्तर काम गर्दै आएको बताए ।
उनले भने, “प्रत्येक सानो वा ठूलो सहयोगले विपद्बाट प्रभावित परिवारको जीवनमा आशा जगाउन सक्छ । विद्यार्थी, अभिभावक तथा सम्पूर्ण विद्यालय परिवारको सहयोग र सहभागिता प्रशंसनीय छ।”
सिद्धार्थ वनस्थली इन्स्टिच्युटले यस राहत अभियानमार्फत समाजप्रतिको आफ्नो जिम्मेवारीलाई थप प्रभावकारी रूपमा प्रस्तुत गरेको छ । विद्यालयले विगतदेखि नै विभिन्न सामाजिक तथा मानवीय गतिविधिमा योगदान पुर्याउँदै आएको र आवश्यकताको समयमा समुदायसँग हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता गरेको छ ।
विद्यालय परिवारले सबैलाई मानवताको पक्षमा एकजुट हुन र विपद्बाट प्रभावित परिवारहरूको सहयोगका लागि आ–आफ्नो ठाउँबाट योगदान गर्न समेत आग्रह गरेको छ।





