झापा । झापा गाउँपालिकाले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु २५ लाख २८ हजार २८८ सहयोग गर्ने निर्णय गरेको छ ।
गाउँपालिकाले जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकबाट रकम सङ्कलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने जनाएको छ । गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलियाले बाढी प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले उक्त रकम कोषमा जम्मा गर्ने निर्णय गरिएको जानकारी दिइन् ।
सहयोग रकममध्ये गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट रु दुई लाख, सम्पूर्ण जनप्रतिनिधिबाट रु ६० हजार, गाउँपालिकाका कर्मचारीबाट रु सात लाख ३८ हजार ६७९ र शिक्षकबाट रु १५ लाख २९ हजार ४०९ सङ्कलन गरिने अध्यक्ष थपलियाले बताइन् । रासस






