Khabar Out
माछापुच्छ्रे बैंकद्वारा दैवी प्रकोप उद्धार कोषमा २ करोड १ लाख सहयोग

काठमाडौं । माछापुच्छ्रे बैंकले रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिक तथा समुदायको राहत र पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

बैंकका अध्यक्ष रोशन के.सीसगै प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला लगायतले उक्त सहयोग रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् ।

बाढी तथा पहिरोका कारण प्रभावित नागरिकको जनजीवन, घर तथा सम्पत्तिमा ठूलो क्षति पुगेको अवस्थामा प्रभावित समुदायको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले बैंकले उक्त रकम प्रदान गरेको जनाएको छ ।

यसअघि नै विपत्तिपछि बैंकले प्रभावित नागरिकका लागि खाद्यान्न, ओढ्ने–ओछ्याउने सामग्री तथा अन्य दैनिक उपभोग्य राहत सामग्री उपलब्ध गराइसकेको थियो।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरिएको उक्त सहयोग रकमबाट प्रभावित नागरिक तथा समुदायलाई राहत उपलब्ध गराउन र पुनर्स्थापना कार्यमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

माछापुच्छ्रे बैंकले यसअघि पनि विभिन्न प्राकृतिक विपद् तथा सामाजिक संकटका समयमा प्रभावित नागरिक र समुदायलाई राहत तथा आर्थिक सहयोग प्रदान गर्दै आएको जनाएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ १५, २०८३  २२:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update