Khabar Out
भोटेकोशी बाढीपीडितका लागि भरतपुरमा राहत सङ्कलन कक्ष, २७२ शव फेला

चितवन । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि राहत सामग्री सङ्कलन तथा व्यवस्थापन गर्न भरतपुरमा राहत सङ्कलन कक्ष स्थापना गरिएको छ।

राहत सहयोग गर्न इच्छुक व्यक्ति तथा संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषका आधिकारिक बैंक खातामा सहयोग जम्मा गर्न सक्नेछन्। कतिपय सङ्घसंस्थाले जिन्सी सामग्रीसमेत सहयोग गर्न चाहेकाले त्यस्ता सामग्री सङ्कलन तथा व्यवस्थापनका लागि कक्ष स्थापना गरिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ।

कार्यालयका प्रशासकीय अधिकृत मदन लामा थिङका अनुसार भरतपुर–१० स्थित चितवन उद्योग सङ्घको हलमा सोमबारदेखि राहत सहयोग सङ्कलन तथा व्यवस्थापन कक्ष सञ्चालन हुनेछ।

मुग्लिन–काठमाडौँ सडकखण्डअन्तर्गत कृष्णभीरमा सडक भासिएर सवारीसाधनको आवागमन पूर्णरूपमा रोकिएको अवस्थामा राहत सामग्री प्रभावित क्षेत्रमा पठाउन समस्या हुनसक्ने भएकाले सहयोग गर्न इच्छुक व्यक्ति तथा सङ्घसंस्थाको सहजताका लागि कक्ष स्थापना गरिएको थिङले बताए।

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बगेर आएका २७२ जनाको शव आइतबारसम्म चितवनको फिस्लिङदेखि गोलाघाटसम्म त्रिशूली तथा नारायणी नदी किनारमा फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार फेला परेका शवमध्ये हालसम्म १२ जनाको मात्र पहिचान भएको छ। पहिचान भएका शव आफन्तलाई बुझाइएको छ।

पहिचान हुन नसकेका शवलाई भविष्यमा आफन्तले पहिचान गर्न सक्ने गरी वैज्ञानिक विधिबाट देवघाटमा सुरक्षित राख्न थालिएको छ।

फेला परेका २७२ शवमध्ये ६२ महिला, ११० पुरुष, सात बालक, छ बालिका र ८७ जनाको पहिचान खुल्न सकेको छैन।

शनिबार ९६ र आइतबार १०३ गरी १९९ शव सुरक्षित रूपमा गाडिएको प्रहरीले जनाएको छ। सनाखत भएर आफन्तले बुझेका १२ शवमध्ये ११ पुरुष र एक बालिका छन् । रासस

प्रकाशित मिति: सोमबार, भदौ १५, २०८३  १०:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update