नवलपुर । भोटेकोशी नदीमा आएको बाढीका कारण नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दु नगरपालिकाका दुई वडाका १२ जना नागरिक बेपत्ता भएका छन्।
मध्यविन्दु नगरपालिका–१ र ५ घर भएका उनीहरू रसुवागढीको टिमुरेमा निर्माणाधीन तेन्जिन शेर्पा हाइड्रोपावर बिल्डिङ कन्स्ट्रक्सनमा कार्यरत थिए। उनीहरू भदौ १० गतेदेखि सम्पर्कविहीन रहेको नगरपालिकाले जनाएको छ।
नगरप्रमुख भीमलाल अधिकारीका अनुसार मध्यविन्दु–१ का तीन जना र वडा नम्बर ५ का नौ जना बेपत्ता छन्। उनीहरूको खोजी भइरहेको भए पनि हालसम्म अवस्था पत्ता लाग्न सकेको छैन।
बेपत्ता हुनेमा मध्यविन्दु–१ का हेमबहादुर चौधरी, हुसनबहादुर थारु र कालीराम महतो थारु तथा मध्यविन्दु–५ का जीवन विक, गङ्गाराम मुखिया, विशाल मुखिया, सीताराम महतो, युद्ध महतो, उमेश महतो, एकदेव महतो, विजय महतो, नुमनारायण महतो, केवलप्रसाद महतो र तेजबहादुर थारु रहेका छन्।
नगरपालिकाले अन्य नागरिकसमेत बेपत्ता भएको हुन सक्ने भन्दै नगरवासीलाई आफन्तबारे जानकारी गराउन आग्रह गरेको छ। नगरपालिकाले बेपत्ता नागरिकको तस्बिरसहितको विवरण सार्वजनिक गर्दै उनीहरू कसैको सम्पर्कमा आएको वा फेला परेको जानकारी भए सचिवालयको ९८४७०७५९३२ र ९८५७०४५१९० मा सम्पर्क गर्न आग्रह गरेको छ।
यस क्षेत्रका सङ्घीय सांसद मनिष खनालले भोटेकोशी बाढीका कारण मध्यविन्दु–५ को बाघखोर र मध्यविन्दु–१ बाट कामका लागि रसुवा पुगेका १२ जना नागरिक घट्टेखोला क्षेत्रबाट बेपत्ता भएको बताएका छन्।
खनालले मध्यविन्दुका नगरप्रमुख, उपप्रमुख, पूर्वप्रमुख, स्थानीय जनप्रतिनिधि तथा बेपत्ता नागरिकका परिवारसँग भेटेर उनीहरू पछिल्लो पटक सम्पर्कमा आएको अवस्थाबारे जानकारी लिएको बताए।
उनका अनुसार टिमुरेमाथि घट्टेखोला क्षेत्रमा भइरहेको खोजी तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन सम्बन्धित निकाय, सुरक्षा निकाय र स्थानीय प्रशासनसँग समन्वय भइरहेको छ । रासस







