दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ डम्पिङस्थित पृथ्वीराजमार्गको भिरबाट खसेर एक विद्यार्थी बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा चितवनको भरतपुर महानगरपालिका–६ चोकबजार निवासी १५ वर्षीय अङ्कित गुरुङ रहेका छन् । उनी कक्षा ९ मा अध्ययनरत थिए ।
प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार शुक्रबार साँझ करिब ६ः१० बजे पोखराबाट चितवनतर्फ फर्किँदै गरेको ना.४ ख ५२८५ नम्बरको बसमा सवार गुरुङ शौच गर्न सडक छेउमा जाने क्रममा भिरबाट खसेका हुन् ।
उनी करिब ५० देखि ६० मिटर तल खसेर बेपत्ता भएको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट प्रहरी निरीक्षक प्रदीप सुवेदीको कमाण्डमा १० जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।
प्रहरी टोलीले तत्कालै खोज तथा उद्धार कार्य सुरु गरेको छ । थप खोजी तथा उद्धारका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ ।







