Khabar Out
शव पहिचान गर्न नसके राष्ट्रिय परिचयपत्र केका लागि ? - पूर्व डीआईजी रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले विपद्का बेला सनाखत नभएका शव हतारमा गाड्नु राज्यको गम्भीर लापरवाही भएको टिप्पणी गरेका छन् । उनले नागरिकको विस्तृत बायोमेट्रिक विवरण रहेको राष्ट्रिय परिचयपत्र प्रणालीलाई विपद्का बेला शव पहिचानका लागि प्रयोग गर्नुपर्ने बताएका छन् ।

सरकारसँग नागरिकको औँठाछाप, आँखाको बायोमेट्रिक विवरण तथा हस्ताक्षरलगायतका विवरण रहेको उल्लेख गर्दै खरेलले अर्बौं रुपैयाँ खर्च गरेर निर्माण गरिएको राष्ट्रिय परिचयपत्र प्रणाली आखिर कहिले प्रभावकारी रूपमा प्रयोग हुने हो भन्दै प्रश्न गरेका छन् ।

उनले विपद्को समयमा शव पहिचान र परिवारको खोजीलाई प्राथमिकता दिनुपर्नेमा सरकार शव गाड्नतर्फ अस्वाभाविक हतारमा देखिएको आरोप लगाए । “सनाखत नभएका शवलाई सुरक्षित राखेर राष्ट्रिय परिचयपत्रलगायत उपलब्ध विवरणसँग पहिचान मिलाउन, परिवारसम्म पुग्न र त्यसपछि मात्रै अन्तिम संस्कारको प्रक्रिया अघि बढाउन किन सकिँदैन ?” उनले प्रश्न गरेका छन् ।

खरेलका अनुसार अहिले कतिपय परिवार आफ्ना छोरा, श्रीमान् वा सन्तानको खोजीमा रहेका छन् । केही दिनपछि परिवारजन शव खोज्दै आउँदा पहिल्यै गाडिसकिएको जानकारी दिनु पीडित परिवारप्रति अन्याय हुने उनको भनाइ छ ।

उनले मृतकका परिवारले आफ्ना प्रियजनको अन्तिम दर्शन गर्न र धार्मिक तथा सामाजिक परम्पराअनुसार अन्तिम संस्कार गर्न पाउनुपर्ने अधिकार रहेको बताए । “यो केवल शव व्यवस्थापनको विषय होइन, पीडित परिवारको अधिकार र भावनासँग जोडिएको विषय हो,” उनको भनाइ छ ।

पूर्व डीआईजी खरेलले शव सुरक्षित राख्न नसकिने अवस्था भए अस्थायी मर्चरी तथा आवश्यक व्यवस्थापन गर्नुपर्ने बताए । आवश्यक प्रविधि र जनशक्ति नभए विशेषज्ञ तथा विदेशी प्राविधिक सहयोग लिन पनि सरकार पछि हट्न नहुने उनको धारणा छ ।

“विपद्का बेला सहयोग माग्दा देश कमजोर हुँदैन, तर आफ्नै कमजोरी लुकाउन खोज्दा राज्य अवश्य कमजोर देखिन्छ,” उनले भनेका छन् ।

खरेलले अर्बौं रुपैयाँको विपद् कोष हुँदाहुँदै पनि प्लास्टिक, त्रिपाल, एम्बुलेन्स, प्राविधिक जनशक्ति तथा शव व्यवस्थापनका आधारभूत पूर्वाधारको अभाव हुनु सरकारको चरम अव्यवस्थापन भएको आरोप लगाए ।

उनले अहिलेको प्रश्न केवल शव व्यवस्थापनको मात्र नभई नागरिकको मृत्यु भएपछि पनि राज्यले उनीहरूप्रतिको जिम्मेवारी पूरा गर्छ कि गर्दैन भन्ने रहेको बताएका छन् ।

“शव गाड्न हतार नगर्नुस् । पहिला पहिचान गर्नुस्, परिवार खोज्नुस् र परिवारलाई आफ्नो मान्छेसँग अन्तिमपटक बिदा हुन दिनुस्,” खरेलले भनेका छन् ।

प्रकाशित मिति: शनिबार, भदौ १३, २०८३  २१:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update