काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले भोटेकोशीसहित विभिन्न नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्राकृतिक विपद्बाट प्रभावित नागरिक तथा समुदायको राहत, उद्धार र पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरेको जनाएको छ ।
बिहीबार आयोजित कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष डा. सुमन दाहाल र बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई ३ करोड रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्य, नायब प्रमुख कार्यकारी अधिकृत, कम्पनी सचिवलगायत कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
हालै भोटेकोशीसँगै त्रिशूली नदीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत जिल्लामा ठूलो जनधनको क्षति पुर्याएको छ । बाढीका कारण धेरै मानिस बेपत्ता भएका छन् भने प्रभावित क्षेत्रमा उद्धार तथा राहतको कार्य जारी रहेको छ ।
बाढी प्रभावित परिवारलाई राहत सामग्री, खाद्यान्न, अस्थायी आश्रय तथा अन्य आवश्यक मानवीय सहायता उपलब्ध गराउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत सहयोग प्रदान गरिएको बैंकले जनाएको छ ।
अकल्पनीय प्राकृतिक विपद्मा ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बैंकले बेपत्ता नागरिकको सकुशल उद्धार तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । बैंकले विपद्बाट प्रभावित परिवार तथा समुदायप्रति गहिरो समवेदना पनि व्यक्त गरेको छ ।
देशमा आइपर्ने प्राकृतिक विपद्का समयमा प्रभावित नागरिकलाई सहयोग गर्दै आएको राष्ट्रिय वाणिज्य बैंकले आगामी दिनमा पनि नेपाल सरकार तथा सम्बन्धित निकायसँग सहकार्य गर्दै आवश्यक सहयोगलाई निरन्तरता दिने जनाएको छ ।







