काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले हालै आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तीन करोड एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
बाढीबाट प्रभावित नागरिक तथा समुदायलाई तत्काल राहत उपलब्ध गराउने र पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको बैंकले जनाएको छ ।
बैंकका सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई उक्त सहयोग रकम हस्तान्तरण गरेको प्राइम कमर्सियल बैंकले जनाएको छ ।
प्राकृतिक विपद्का समयमा सरकार तथा प्रभावित समुदायलाई आवश्यक सहयोग गर्दै आएको बैंकले यसअघि पनि विभिन्न विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार र पुनर्स्थापनाका लागि संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गर्दै आएको उल्लेख गरेको छ ।
आगामी दिनमा पनि प्राकृतिक विपद्का कारण प्रभावित नागरिक तथा समुदायको राहत र पुनर्स्थापनाका लागि नेपाल सरकार तथा सम्बन्धित निकायसँग सहकार्य गर्दै आवश्यक सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता बैंकले जनाएको छ ।







