नवलपरासी । यही भदौ १० मा रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण बेपत्ता भएकामध्ये शुक्रबार साँझसम्म १५८ जनाको शव नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा फेला परेको छ । जिल्लामा आज मात्र थप ४८ वटा शव फेला परेको हो ।
नवलपरासी हुँदै बग्ने नारायणी नदीको विभिन्न स्थानमा आज साँझसम्ममा १५८ वटा शव फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार जिल्लामा भेटिएका शवमध्ये १०९ वटा शव मात्र सिङ्गो फेला परेको छ । जिल्लाका विभिन्न स्थानमा भेटिएका शवमध्ये ४९ वटा शवको शरीरका विभिन्न टुक्रा भेटिएका उनले जानकारी दिए ।
जिल्लामा ३१ महिला, ५१ पुरुष, आठ बालक, ११ बलिकाको शव फेला परेको जनाउँदै सूचना अधिकारी पण्डितले बाँकी शवको ३० खुट्टा, ११ हात, तीन थाइ एवम् एक/एक वटा कम्मरमाथिको भाग, टाउकाको भाग, पेटको भाग, शरीरको बायाँ भाग र छातीको भाग रहेको जानकारी दिए ।
जिल्लामा सबैभन्दा बढी गैँडाकोट नगरपालिकामा १०३, मध्यविन्दु नगरपालिकामा २२, कावासोती नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकामा १२–१२ वटा तथा देवचुली नगरपालिकामा नौ शव भेटिएको उनले बताए । नारायणी नदी किनारमा भेटिएक शव विभिन्न अस्पताल तथा वनको भवनमा व्यवस्थापन गरिएको छ ।
नगर अस्पताल गैँडाकोटमा ४८, मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा ४६, नगर अस्पताल मध्यविन्दुमा ६ तथा अङ्कुर सामुदायिक वनको भवनमा पाँच वटा शवको व्यवस्थापन गरिएको छ । त्यस्तै, गण्डकी अस्पताल पोखरामा ४१, लुम्बिनी मेडिकल कलेज प्रभाास पाल्पामा दुई, प्रदेश अस्पताल पाल्पामा चार तथा मिसन अस्पताल पाल्पामा दुई वटा शव पहिचान तथा व्यवस्थापनका लागि पठाइएको पण्डितले बताए । त्यस्तै बाँकी नौ वटा शव नदी किनारमै रहेको जनाउँदै शवलाई सुरक्षित स्थानमा ल्याउने तयारी भइरहेको उनको भनाइ छ ।
नवलपुरमा भेटिएको शवमध्ये एउटा शव पहिचान गरी आफन्तलाई बुझाइएको प्रहरी नायब उपरीक्षक पण्डितले जानकारी दिए । अर्को एउटा शवको पहिचान गरिएको भए पनि आवश्यक प्रक्रिया बाँकी रहेकाले आफन्तको जिम्मा लगाउन बाँकी रहेको उनको भनाइ छ । रासस







