तनहुँ। तनहुँमा खानेपानीको पहुँच विस्तार गर्ने उद्देश्यले सञ्चालन गरिएका विभिन्न कार्यक्रममार्फत पछिल्लो एक वर्षमा तीन हजार ५४६ नयाँ धारा जडान गरिएको छ। आर्थिक वर्ष २०८२/८३ मा गण्डकी प्रदेश सरकारको कार्यक्रम तथा सङ्घीय सरकारका विभिन्न अनुदान कार्यक्रममार्फत नयाँ धारा जडान, खानेपानी प्रशोधन तथा आधारभूत खानेपानी सुविधा विस्तार गरिएको हो।
जिल्लास्थित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका इन्जिनियर अनिल सुवेदीका अनुसार आव २०८२/८३ मा गण्डकी प्रदेश सरकारको कार्यक्रमअन्तर्गत तीन हजार २२७ घरमा नयाँ धारा जडान गरिएको छ । यसैगरी, सङ्घीय सरकारको विशेष अनुदान कार्यक्रममार्फत ३१९ घरमा नयाँ धारा जडान गरिएको उनले जानकारी दिए।
सुवेदीका अनुसार प्रदेश सरकारमार्फत ५५५ घरमा खानेपानी प्रशोधनसम्बन्धी काम गरिएको छ। प्रदेश सरकारको कार्यक्रमअन्तर्गत हालसम्म तनहुँका २० हजार ८६७ घरमा धारा जडान भइसकेको जनाउँदै उनले एक लाख चार हजार ८५७ घरमा आधारभूत खानेपानी सुविधा पुगेको बताए। प्रदेश सरकारको कार्यक्रमबाट हालसम्म तीन हजार ४२९ घरमा खानेपानी प्रशोधनसम्बन्धी काम भएको छ।
इन्जिनियर सुवेदीका अनुसार सङ्घीय सरकारको ससर्त अनुदान कार्यक्रममार्फत पनि तनहुँमा खानेपानीको पहुँच विस्तार गरिएको छ । यस कार्यक्रमअन्तर्गत हालसम्म २९ हजार ९५९ घरमा आधारभूत खानेपानी सुविधा पुगेको छ । त्यसैगरी, पाँच हजार ६३१ घरमा ‘एक घर, एक धारा’ कार्यक्रमअन्तर्गत खानेपानीको व्यवस्था गरिएको उनले जानकारी दिए।
खानेपानीको गुणस्तर सुधार तथा शुद्ध पानी उपलब्ध गराउने उद्देश्यले एक हजार २७८ घरमा खानेपानी प्रशोधनसम्बन्धी काम गरिएको सुवेदीको भनाइ छ। ‘एक घर, एक धारा’ कार्यक्रमले सामूहिक तथा सार्वजनिक धारामा निर्भर परिवारलाई आफ्नै घरमा नियमित खानेपानीको पहुँच पुर्याउन सहयोग गर्नाका साथै सरसफाइ र स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पारेको उनले बताए।
सङ्घीय सरकारको विशेष अनुदान कार्यक्रमबाट जिल्लामा खानेपानीका विभिन्न आयोजना सञ्चालन भएका छन् । यस कार्यक्रमअन्तर्गत हालसम्म १४ हजार ८९० घरमा आधारभूत खानेपानी सुविधा पुगेको इन्जिनियर सुवेदीले जानकारी दिए।
त्यस्तै, तीन हजार ५६१ घरमा एक घर, एक धाराकार्यक्रम कार्यान्वयन भएको छ । ६ सय ६३ घरमा खानेपानी प्रशोधनसम्बन्धी पूर्वाधार निर्माण तथा व्यवस्था गरिएको कार्यालयले जनाएको छ। विशेषगरी खानेपानीको सहज पहुँच नपुगेका तथा भौगोलिक रूपमा विकट क्षेत्रका बस्तीलाई लक्षित गरी यस्ता आयोजना सञ्चालन हुँदै आएका छन्। नयाँ खानेपानी आयोजना निर्माणसँगै पुराना आयोजनाको सुधार र विस्तारलाई समेत प्राथमिकता दिइएको कार्यालयले जनाएको छ।
तनहुँमा खानेपानी विस्तारका लागि प्रदेश सरकारका साथै सङ्घीय सरकारका ससर्त तथा विशेष अनुदान कार्यक्रम सञ्चालन हुँदै आएका छन्। यस्ता कार्यक्रममार्फत नयाँ आयोजना निर्माण, पुराना आयोजनाको विस्तार, धारा जडान तथा प्रशोधन केन्द्र निर्माण प्रक्रिया अघि बढाइएको छ।
कार्यालयका अनुसार खानेपानी सेवा विस्तारका क्रममा स्थानीय तहसँग समन्वय गर्दै आइएको छ। स्थानीय आवश्यकता, खानेपानीको स्रोत, उपभोक्ताको सङ्ख्या तथा भौगोलिक अवस्थाका आधारमा आयोजना छनोट तथा कार्यान्वयन गर्ने गरिएको सुवेदीले बताए।
कार्यालयले नयाँ खानेपानी आयोजनाको माग, सर्वेक्षण, डिजाइन, लगत तयार, आयोजना निर्माण तथा कार्यान्वयन, आवश्यक सामग्री निकासा, प्राविधिक सहयोग, अनुगमन, निरीक्षण, मूल्याङ्कन तथा भुक्तानीलगायत काम गर्दै आएको छ।







