Khabar Out
१३ महिनामा ४३ हजार ५९३ सवारीसाधन कारबाहीमा

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा पछिल्लो १३ महिनामा ४३ हजार ५९३ सवारी साधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका अनुसार ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनलाई कारबाही गर्दै रु तीन करोड १८ लाख ८५ हजार ५०० जरिवाना असुल गरिएको छ ।

कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीका अनुसार गत आर्थिक वर्ष २०८२–८३ मा प्रदेशका नौ जिल्लामा ३९ हजार २१२ सवारीसाधन कारबाहीमा परेका थिए ।

चालु आर्थिक वर्षको पहिलो साउन महिनामा मात्रै चार हजार ३८१ सवारीसाधनलाई कारबाही गरिएको उनले जानकारी दिए । गत साउनमा मात्रै ट्राफिक कारबाहीबाट रु ३७ लाख ९० हजार ५०० जरिवाना असुल भएको छ ।

साउनमा मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने एक हजार ८७ जना चालकलाई कारबाही गरिएको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिए ।

ट्राफिक नियम पालना नगर्ने तथा लापरबाहीपूर्वक सवारी चलाउनेमा मोटरसाइकल, जिप÷कार, ट्रक र ट्याक्टरलगायतका सवारीसाधन बढी रहेको ट्राफिक प्रहरीले जनाएको छ । गत आर्थिक वर्षमा सबैभन्दा बढी १३ हजार ६४८ मोटरसाइकल कारबाहीमा परेका थिए ।

यसैगरी, आठ हजार ८९३ जिप÷कार, छ हजार २८५ ट्रक, तीन हजार ७११ ट्याक्टर, एक हजार ७८५ बस र चार हजार ८९० अन्य सवारीसाधन कारबाहीमा परेका थिए ।

प्रहरी उपरीक्षक कार्कीले सुदूरपश्चिममा सवारीसाधनको सङ्ख्या बढ्नु, सडक साँघुरा हुनु तथा ट्राफिक नियमप्रतिको बेवास्ता र जनचेतनाको कमीका कारण दुर्घटनाको जोखिम बढेको बताए ।

ट्राफिक नियम उल्लङ्घन गर्ने क्रम बढ्दै गएको पछिल्लो तथ्याङ्कले देखाएको उनको भनाइ छ । ट्राफिक प्रहरीले प्रदेशभर नियमित चेकजाँचका साथै सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।

राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका अनुसार गत वर्ष सुदूरपश्चिममा सवारी दुर्घटनामा परी २५० जनाको मृत्यु भएको थियो । दुर्घटनामा एक हजार ३८१ जना गम्भीर र एक हजार १६२ जना सामान्य घाइते भएका थिए ।

गत वर्ष लागूऔषध सेवन गरी सवारी चलाउने ५८ जना चालकलाई कारबाही गरिएको थियो भने मादक पदार्थ सेवन गरी सवारी चलाउने तीन हजार ६४१ चालकलाई कारबाही गरी जरिवाना गरिएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ ३, २०८३  ०८:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update