Khabar Out
नरैनापुरमा घट्दै घरमै सुत्केरी हुने दर, १ हजार १५१ महिलाले लिए संस्थागत प्रसूति सेवा

बाँके । बाँकेको दुर्गम मानिने नरैनापुर गाउँपालिकामा घरमै सुत्केरी गराउने पुरानो परम्परा हट्दै गएपछि सुरक्षित मातृत्वको क्षेत्रमा सकारात्मक परिवर्तन आएको छ।

वडास्तरमा गाउँमै प्रसूति सेवा केन्द्र सञ्चालनमा आएपछि घरमै सुत्केरी गराउने प्रवृत्ति घटेको नरैनापुर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार शाहले बताए। 

विगतमा घरमै सुत्केरी गराउँदा धेरै आमा र नवजात शिशुको स्वास्थ्य जोखिममा पर्ने गरेको उल्लेख गर्दै उनले अहिले त्यो तस्बिर बदलिएको जानकारी दिए। वडा-वडामा सञ्चालित वर्थिङ सेन्टर सुरक्षित मातृत्वका भरपर्दा केन्द्रका रूपमा स्थापित हुँदै गएको शाहको भनाइ छ।

आर्थिक वर्ष २०८२/८३ मा नरैनापुरका विभिन्न प्रसूति सेवा केन्द्रबाट १ हजार १५१ जना महिलाले सुरक्षित प्रसूति सेवा लिएका छन्। संस्थागत सुत्केरीको सङ्ख्या निरन्तर बढ्नु सुरक्षित मातृत्वप्रतिको चेतना र स्थानीय सरकारको लगानीको प्रतिफल भएको शाहले बताए।

वडा नम्बर १ देखि ६ सम्म चौबीसै घण्टा तालिमप्राप्त स्वास्थ्यकर्मीबाट प्रसूति सेवा सञ्चालन भइरहेको छ। गर्भवतीलाई स्वास्थ्य संस्थासम्म ल्याउन निःशुल्क एम्बुलेन्स सेवाको व्यवस्था गरिएकाले दुर्गम बस्तीका महिलाले पनि सहज रूपमा सेवा लिन थालेका छन्। जटिल अवस्था देखिएमा तत्काल भेरी अस्पतालमा निःशुल्क रेफर गर्ने तथा ल्याउने-लैजाने व्यवस्था गाउँपालिकाले मिलाएको छ।

गत आर्थिक वर्षमा वडा नम्बर १ कटकुइँयामा १८६, वडा नम्बर २ कालाफाँटामा १७४, वडा नम्बर ३ नरैनापुरमा १०१, वडा नम्बर ४ लक्ष्मणपुरमा २५४, वडा नम्बर ५ मटेहियामा २८६ र वडा नम्बर ६ गङ्गापुरमा १५३ जना महिलाले सुरक्षित प्रसूति सेवा लिएका छन्।

नरैनापुरमा पछिल्ला वर्षहरूमा सबैभन्दा ठूलो परिवर्तन महिलाको सोचमा आएको वडा नम्बर १ कटकुइँया स्वास्थ्यचौकीमा कार्यरत अनमी सामना गुरुङले बताइन्। पहिले धेरैजसो गर्भवतीले घरमै सुत्केरी गराउने योजना बनाउने, अस्पताल आउन डराउने, खर्च धेरै लाग्छ भन्ने सोच्ने र अन्तिम समयमा मात्रै ल्याइने अवस्था रहेको उनले स्मरण गरिन्। अहिले भने गर्भ रहेदेखि नै नियमित जाँचका लागि स्वास्थ्य संस्थामा आउने, सुत्केरी हुने मिति नजिकिँदै जाँदा आफैँ वर्थिङ सेन्टरमा सम्पर्क गर्ने र सुरक्षित रूपमा स्वास्थ्य संस्थामै सुत्केरी गराउने चलन बढेको गुरुङले उल्लेख गरिन्।

स्वास्थ्यकर्मीको परामर्श, महिला स्वास्थ्य स्वयंसेविकाको सक्रियता, परिवारको बढ्दो साथ र गाउँपालिकाले उपलब्ध गराएको निःशुल्क एम्बुलेन्स सेवाले समुदायको सोच परिवर्तन गर्न महत्त्वपूर्ण भूमिका खेलेको गुरुङको भनाइ छ। सुत्केरी सामान्य घटनाजस्तो देखिए पनि कुनै पनि बेला जटिल अवस्था आउन सक्ने भएकाले प्रशिक्षित स्वास्थ्यकर्मीको निगरानीमा हुने प्रसूति नै आमा र शिशु दुवैका लागि सुरक्षित हुने उनले बताइन्।

कुनै समय स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेको नरैनापुर अहिले सुरक्षित मातृत्वको क्षेत्रमा उदाहरणीय परिवर्तनतर्फ अघि बढिरहेको गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले बताए। स्थानीय सरकारको प्रतिबद्धता, स्वास्थ्यकर्मीको समर्पण र समुदायमा बढ्दो जनचेतनाले जोखिमपूर्ण घरायसी सुत्केरीलाई सुरक्षित संस्थागत सुत्केरीमा रूपान्तरण गरिरहेको उनको भनाइ छ।

केही वर्षअघिसम्म प्रसूति सेवा लिन नेपालगञ्ज वा भारतका सीमावर्ती अस्पतालसम्म पुग्नुपर्ने बाध्यता रहेको स्मरण गर्दै अध्यक्ष शाहले अहिले गाउँमै गुणस्तरीय सेवा उपलब्ध हुनु ठूलो उपलब्धि भएको उल्लेख गरे। सडक, विद्युत्, स्वास्थ्य संस्था र जनशक्तिमा भएको विस्तारले नरैनापुरको स्वास्थ्य सेवामा आमूल परिवर्तन ल्याएको र वडा-वडामा सञ्चालित वर्थिङ सेन्टरले दुर्गम बस्तीका महिलालाई सुरक्षित सुत्केरी सेवा घर नजिकै उपलब्ध गराएको शाहले बताए । रासस

प्रकाशित मिति: मंगलबार, भदौ २, २०८३  १५:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update